बाँके । पहाडी र हिमाली जिल्लाका जनप्रतिनिधीले विकासका नाममा डोजर आतंक मच्चाईरहेका बेला तराईका जनप्रतिनिधीमा ‘रोलर’ मोह बढ्दै गएको छ । विकास बजेट ६० प्रतिशतसम्म सडकमा विनियोजन गरेका जनप्रतिनिधिले यसरी आफ्नो व्यवसाय चलाउँने दाउ कसिरहेका छन् ।
नाम आफन्तको राखेर लाभ उनीहरू आफैंले लिने गरेका थुप्रै घटना बाहिर आएका छन् । पहाडमा डोजर आतंक भैरहदा बाँकेको खजुरा गाउँपालिकका अन्तगर्तका केही वडा जनप्रतिनिधीले रोलरप्रति मोह बढाउँदै गाउँपालिका वा वडाका समग्र विकास निर्माणको ठेक्कामा आफ्नै हैकम जमाउँने प्रक्रिया शुरू गरिसकेका छन् ।
वडामा आफ्नै हालीमुहाली हुन भएपछि गाउँपालिकाको वडा नं चारका वडाअध्यक्ष तीलकवीर सुनारले एउटा रोलर खरिद गरेका छन् । उनले व्यीक्तगत प्रयोगजनाका लागि खरिद गरेको उक्त रोलर केही दिनयता गाउँपालिकाको कार्यालय परिसरमा राखिएको छ ।
गाउँपालिका र वडामा हुने समग्र विकास निर्माणका काम हत्याउँने र अध्यक्षकै बलमा छोटो समयमा मोटो रकम कुम्लाउँने दाउमा उनले पदमै रहेको बेला रोलर खरिद गरि व्यक्तिगत कन्ट्रक्शनको कामलाई तीब्रता दिन थालेको खुलेको छ । अध्यक्षले नै ठेक्का गर्न थाले भन्ने जनगुनासो नआहोस् भन्नका लागि उनले केही पत्रकार र आफन्तलाई पनि आफ्नो व्यवसायमा सहभागी बनाएको खुलासा भईसकेको छ । खजुरा गाउँपालिका– ३ का वडाध्यक्ष कान्तुराम गौतमले पनि एक्साभेटर राखेका छन् । तर, उक्त एक्साभेटरको कारोबार उनका छोराले सम्हाल्दै आएको खजुराबासीले बताएका छन् । छोराको नाममा एक्साभेटर भएपछि गाउँपालिकाका सडक सम्याउने र चौडा पार्ने काममा उनकै एक्साभेटर परिचालित हुँदै आएको बताइएको छ । सोही गाउँपालिकाका वडानं ७ का वडाअध्यक्ष अतिउल्लाह खाँको पनि यस्तै एउटा साधन रहेको छ ।
स्थानीय तहमा सञ्चालित योजनाहरूको अनुगमन गर्ने र हरेक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । सार्वजनिक सुनुवाइका क्रममा हरेक योजनाको खर्च आमसर्वसाधारण सामु पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्छ । तर, खजुराका साथै बाँकेका अधिकांश स्थानीय तहले योजना अनुगमन र सार्वजनिक सुनुवाइ गरेकै छैनन् ।
जनप्रतिनिधीमा ‘रोलर’ ‘डोजर’ र एक्साभेटर मोह बढेको र तहका समग्र विकासमा मनोमानी गरेको जनगुनासो एकदमै आए पनि खजुरा गाउँपालिका वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले आफूलाई यस बिषयमा केही थाहा नभएको बताए ।
उनले घरमा एक्साभेटर भएको स्वीर्कादैं उक्त एक्टाभेटर छोराले चलाउँने गरेको र उक्त साधन आफू जनप्रतिनिधी हुनुभन्दा धेरै पहिला किनेको जानकारी दिए । उनले उक्त साधनले अहिलेसम्म वडाका कुनैपनि विकास निर्माणमा काम नगरेको पनि बताए । उनले भने, ‘त्यो छोराहरूको व्यवसाय हो मलाई कुनै सरोकार हुँदैन ।’ यता वडा नंं चारका वडाध्यक्ष तीलकवीर सुनारले गाउँपालिका परिसरमा राखिएको रोलर आफ्नो नभई आफ्नो नजिकैको एकजना साथीको भएको बताएका छन् । ‘साथीको घरमा उक्त रोलर राख्ने जमिनको अभाव र सुरक्षाको दृष्टिकोणले गर्दा पालिका परिसरमा ल्याएर मैले राखेको हुँ,’ अध्यक्ष सुनारले भने, ‘यसमा मेरो केही छैन् ।’ प्रावधान अनुसार नीजि सवारी साधन सरकारी हाताभित्र वीना जानकारी राख्न पाइदैन ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले जनप्रतिनिधीले आफना यस्ता साधन प्रयोग गरेर विकास निर्माणका नाममा व्यवसाय गर्न नपाउँने बताएका छन् । गाउँपालिकामा पनि केही यस्तै गुनासा आएकोले यस बारेमा आफू पनि बुझने क्रममै रहेको उनले जानकारी दिए । वडाअध्यक्ष सुनारले आफूखुशी ल्याएर राखेको उक्त रोलरका बारे गाउँपालिकालाई बिहीबार साँझसम्म केही थाहा नभएको गाउँपालिका अध्यक्ष कक्षपति बताउँछन् ।
‘जनप्रतिनिधीले यस्तो काम गर्न वा गराउँन प्रेरित समेत गर्न पाइँदैन,’ उनले भने,’ ‘पदको दुरूपयोग गर्दै कसैले विकासका नाममा रोलर, डोजर लगायतका साधन ल्याएर आफै वा आफ्नो नजिकको कसैलाई यस्तो गर्न लगाउँछ भने त्यो जोसुकै भए नि जनप्रतिनिधी होइन,’ उनले भने, ‘गाउँपालिका परिसरमा राखिएको रोलर तत्काल त्यहाँबाट हटाउन भनिसकेको छु ।’
सत्यपाटी - ।