सूचनाको शक्ति - The Power Of Information

        

छात्रामात्र अध्ययन गर्ने विद्यालय, जहाँ छैन कुनै डरत्रास

नीरज गौतम । नेपालगन्ज । छात्रामात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगन्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगन्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे ।
विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढन थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रामात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगन्जमा स्थापना गरियो ।
‘छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व केदारनाथ टण्डन र स्व रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो,’ नेपालगन्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालले भने ।
विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६/७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले ७०० भन्दा बढी छात्रा अध्ययनरत छन् ।
छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । विसं २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापक छन् ।
‘विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो,’ प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङख्या बढी छन्, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् ।
विसं २०७० यता पुरुष शिक्षकले विद्यालयमा पनि पढाइरहेका छन् । गणित र विज्ञान विषयका शिक्षिक महिला नहुँदा शिक्षक राखिएको जनाइएको छ । त्यसताका बाँकेमा विगतमा छोरालाई मात्र पढाउनु पर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो ।
‘छोरी मान्छेमात्र पढ्ने भएकाले आफूहरुलाई साथीहरु, शिक्षिकालाई मनको कुरा भन्न सहज हुने र कुनै किसिमको डरत्रास पनि हुँदैन,’ कक्षा ८ मा अध्ययनरत सविता रोकायको बुझाइ छ । छात्रा रोकायजस्तै त्यहाँ अध्ययनरत सबै छात्राको बुझाइ पनि उस्तै नै छ । रासस

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १२:०५