सूचनाको शक्ति - The Power Of Information

        

राराबाट सुरु हुँदै प्लाष्टिकमुक्त अभियान

काठमाडौं । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ सुरु गरिने भएको छ ।
समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ ।
हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने छ ।
कार्यक्रमअन्तरगत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ । प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताए ।
देशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियानलाई निरन्तरता दिने उनले बताए । सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १४:३८