सूचनाको शक्ति - The Power Of Information

        

एक नर्स बराबर १५ विरामी !

भेरी अञ्चल अस्पतालको बेहाल

बाँके । भेरी अञ्चल अस्पताल नेपालगन्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले मापदण्ड अर्थात क्षमताभन्दा बढी विरामीको उपचारमा सहभागिता हुनुपर्ने अवस्था रहेको छ । अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको संख्यामा सरकारले नै ध्यान दिन सकेको छैन ।
अस्पताल र अस्पतालले दिने सेवा वृद्धि भइरहेका छन्, बिरामीको चाप बढ्दो छ तर, त्यसअनुसार नर्स बढाउने काम हुन सकेको उनीहरुको बुझाई छ । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । सरकारी मापदण्ड अनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म विरामी हुर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म विरामी हुर्नुपर्ने अवस्था छ ।
अस्पतालको क्षमता बृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दीमा थप नगरेको अस्पतालका मेडिकल सुपेरिटण्डेन रूपानन्द अधिकारी बताउँछन् । उनकाअनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करिब ३६ जना नियमित सेवामै छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन विदामा रहेका छन् ।
अस्पतालमा नर्सहरू दरबन्दी अनुसारकै छन मेडिकल सुपेरिटेन्डन अधिकारीले भने, ‘तर, बाँके र यस क्षेत्रकै जनसंख्या र सरकारी अस्पतालको तुलना गर्दा भेरीमा भएका नर्सको संख्या अपुग देखिएको छ ।’ अहिले १६० बेड रहेको भेरी अस्पताल २०४३ सालकै डाक्टर तथा नर्सको दरबन्दीका भरमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।
अस्पतालमा रहेको ५६ जना डाक्टर दरबन्दीमा अहिले २९ जना कार्यरत छन् । उनकाअनुसार दरबन्दीअनुसारका डाक्टर माग गरेपनि प्रदेश र केन्द्रीय दुबै सरकार र अस्पताल विकास समिति उदासिन रहेका छन् । ‘दरबन्दी छ,’ उनले भने, ‘तर,कतिपय सर्जन डाक्टरका लागि अस्पतालमा ठाउँ, प्रविधि (वार्ड र ओपीडी) कै अभाव रहेको छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतः सघन उपचार कक्ष (आईसीयू)मा एक बिरामी बराबर एकजना नर्स हुनुपर्छ । सामान्य बेडमा ६ जना बिरामी बराबर एउटा नर्स चाहिन्छ । अप्रेसन थिएटरमा एक बिरामीका लागि दुई जना नर्स हुनुपर्छ । ‘अस्पतालको सेवा सिफ्टका हिसाबले तीन सिफ्ट हुँदा तीन जना नर्स चाहिन्छन्,’ उनले भने, ‘तर, जनशक्ति अभावले यस्तो मापदण्ड पुरा गर्न सकिएको छैन ।’
बेड संख्याअनुसार नर्सको अन्तर्राष्ट्रिय मापदण्ड सरकारी अस्पतालले नै पूरा गर्न सकेका छैनन् । निजी अस्पताल सञ्चालन स्वीकृति दिँदा नर्सको दरबन्दीको किटान गर्न जरुरी देखिन्छ । यसैगरी नर्सको सेवा सुविधाका विषयमा पनि एकरुपता छैन । सरकारी र निजी स्वास्थ्य संस्थामा एउटै तलब, सेवा र सुविधा हुन जरुरी रहेको स्वास्थ्य जानकार डाक्टर केदार नरसिंह केसी बताउँछन् ।
नेपाल नर्सिङ काउन्सिलमा अहिले ३९ हजार ७८६ पिसिएल र बिएसी नर्स र २७ हजार २९६ अनमी दर्ता छन् । यसैगरी ८२३ जना विदेशी नर्सले नेपालमा बसेर काम गर्ने अनुमति लिएका छन् । विदेशीबाहेक अहिलेसम्म ६७ हजार ८२ नर्सले नर्सिङ काउन्सिलमा नाम दर्ता गराएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १४:४१