सूचनाको शक्ति - The Power Of Information

        

बाँके कारागारका भौतिक संरचना जीर्ण, कर्मचारीलाई शौचालयको समस्या

बाँके । जिल्ला कारागार बाँकेमा भौतिक संरचना र शौचालयको अभाव देखिएको छ । कारागारमा रहेका कैदीबन्दीका लागि आवश्यकता अनुसार भित्रै शौचालय भए पनि कारागारमा भेटघाटका लागि आउने नागरिक र कर्मचारीका लागि एउटा मात्रै शौचालय भएकोले प्रयोगमा समस्या भइरहेको कारागारका जेलर भरत पाण्डेले जानकारी दिए ।
पुरानो र जीर्ण भवनका कारण पनि कर्मचारीलाई पर्याप्त बस्ने र प्रशासनीक काम गर्नका लागि ठाउँको अभाव हुने गरेको जेलर पाण्डेले बताए । १५ जना कर्मचारीको दरबन्दी रहेको बाँके कारागारमा कर्मचारीकै लागि ठाउँ अभाव भएपछि कष्टकररूपमा सेवा प्रवाह गर्नुपरेको छ । कारागारमा भौतिक संरचना मात्रै नभई खानेपानी र आगन्तुकका लागि बस्ने प्रतिक्षालयको समेत अभाव रहेको छ ।
कारगार परिसरमा एउटा मात्रै शौचालय भएका कारण दैनिकजसो कैदीबन्दी भेट्न आउने नागरिक र यहाँकै कर्मचारीले शौच गर्दा लाइन बस्नुपर्ने बाध्यता रहेको जेलर पाण्डेले बताए । जेलर पाण्डेले भने, ‘कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी रहे पनि भित्र बसाई र उनीहरुको सेवा सुविधामा कुनै कमी छैन ।’ कारागारको भौतिक संरचना जीर्ण हुँदा प्रशासनिक काममा समस्या भए पनि कैदीबन्दीका लागि भित्रको बसाई राम्रो भएको कैदीबन्दीले बताएका छन् ।
कैदीबन्दीहरूले स्वरोजगारका लागि कारगारमै मुढा लगायतका सामग्री उत्पादन गर्ने इच्छा राखे पनि ठाउँ अभावले अहिले कारागारभित्रै विभिन्न प्रयोजनका लागि सामग्री उत्पादन गर्न नसकिएको जेलर पाण्डे बताए । कारागारको क्षमताभन्दा बढी मानिस भएको कारण केही जटिलता भए पनि बसाई, खानपान लगायतका सेवा सुविधामा समस्या नभएको कैदीबन्दीहरुले बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतवार ०२:३५