सूचनाको शक्ति - The Power Of Information

        

रुपैडिहामा भीडभाड, नेपालगन्ज सुनसान

नेपालगन्ज । दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारि भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगन्जका बजारका पसलमा भने दुई चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देउता नै आएजस्तै भएको छ ।
भारतीय बजार रुपैडियामा नेपालगन्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले पनि रुपैडिया बजार रोजाइँमा पर्ने गरेको हो’ नेपालगन्ज–१९ की लक्ष्मी बोहराको भनाइ छ ।
सीमापारि भारतीय बजार रुपैडियाबाट ल्याएको रु १०० भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन पाइँदैन् । तर, यो नियम व्यवहारमा लागू भएको छैन । भन्सार कार्यालयसँग नेपालगन्जका व्यापारीको गुनासो पनि यही नै हो ।
‘हामीले हजारौँ पटक, नियममा कडाइ गर्नुस् भनेका छांैँ, तर नेपालगन्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि कस्को के लाग्छ,’ नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ ।
अध्यक्ष वैश्य भन्छन्, ‘बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडियाभन्दा नेपालगन्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडियाभन्दा पनि यहीँ सस्तो पर्न जान्छ । तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचलाई हामीले परिवर्तन नै गर्न सकेनौँ ।’
यही सोच परिवर्तन गर्न र नेपाली बजारप्रति उपभोक्तामा जागरण ल्याउन नेपालगन्जका केही व्यापारी मिलेर नेपालगन्जमा यसवर्ष दशैँ सस्तो बजार सञ्चालनमा ल्याउने भएका छन् । असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँं सस्तो बजार सञ्चालन गर्ने भएका हुन् ।
दशैंँ सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगन्ज वितरण सङ्घका कोषाध्यक्ष उपकार टण्डनले बताए । दशैँं सस्तो बजार सञ्चालनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज किराना तथा खाद्य व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घले सघाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०८:४१