सूचनाको शक्ति - The Power Of Information

        

‘नेपालगन्ज–दिल्ली उडानको सम्भावना न्यून’


बाँके । नेपालगन्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको तत्काल असम्भव देखिएको छ । बुद्ध एयरले नेपालगन्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यो तत्कालका लागि असम्भव देखिएको छ ।
‘अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगन्ज विमानस्थलका लागि त्यो सम्भव छैन । यो पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ । अहिलेलाई नेपालगन्ज–दिल्ली उडान सम्भव छैन,’ नेपालगन्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने ।
बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगन्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले अझै कम्तीमा पनि एक वर्ष नेपालगन्ज विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिए । केही समयअघि बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले ६ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गरेका थिए ।
निर्देशक ठाकुरले भने, ‘कुनै पनि जहाज उड्नुभन्दा पहिले सम्बन्धीत एयरपोर्टमा स्लट (जहाज ओर्लिने समय) माग गर्नुपर्छ, दिल्ली एयरपोर्टले रातीको समयमा त्यो समय उपलब्ध हुने बताएको छ । तर नेपालगन्जबाट राती जहाज उड्नु सम्भव पनि छैन ।’ उनले अन्तर्राष्ट्रिय मान्यता अनुसार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा डोमेस्टिक एयरका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने र त्यो तयार गर्न एक वर्ष लाग्ने बताउनुभयो ।
‘प्रिफ्याब बनाउनै एक वर्ष लाग्छ, कसरी सम्वभ छ ?’ निर्देशक ठाकुरले भने, ‘उडान अनुमति दिनुभन्दा भहिले भारतीय एयरपोर्ट सुरक्षा युनिटले यहाँको विमानस्थलको सुरक्षाका बारेमा अध्ययन गर्छ । त्यो पनि भइसकेको छैन । सबै संरचनाहरु तयार भएपछि मात्रै उडान सम्भव हुन्छ ।’ उनका अनुसार विमानस्थलमा अहिले दुई वटा टर्मिनल बनाउने तयारी भइरहेको छ ।
‘डिजाइन र लागत तयार भइरहेको छ, अबको दुई महिनामा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया सुरु हुन्छ,’ उनले भने । अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणले तयारी थालिसकेको उनले जानकारी दिए । ‘जति हतार गरे पनि पूर्वाधार नै नभएपछि कसरी सञ्चालन गर्न सकिन्छ र ?, निर्देशक ठाकुरले भने ।
मानसरोवर तिर्थ यात्राका नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुहरुलाई मध्यनजर बुद्ध एयरले नेपालगन्ज–दिल्लीको उडानलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको छ । तर त्यो तत्काललाई सम्भव दैखिएको छैन । यसले बुद्धले आगामी वर्षबाट मात्रै उडान गर्न सक्ने देखाएको छ । नेपालगन्ज–नयाँदिल्ली रुटमा दैनिक उडान गर्ने बुद्धको योजना छ ।
तिब्बतको मानसरोबर जाने भारतीय पर्यटकलाई लक्षित गर्दै बुद्धले नयाँ दिल्लीको उडान सुरु गर्ने तयारी गरेको हो । भारतबाट प्रत्येक वर्ष डेढदेखि २ लाख पर्यटक नेपाल आउँछन् । ती मध्ये मानसरोवर जाने पर्यटकको संख्या उल्लेख्य हुने गर्छ । पछिल्लो समय भारतीय पर्यटकहरु नेपालगन्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार १२:४२