दुर्गा विसी । सल्यान । गएरातिदेखि परेको अबिरल बर्षाका कारण सल्यान कुमाख गाउँपालिकाको बेशीमा धेरै किसानको धेरै खेतीयोग्य जमिन कटान गर्नुको साथै सयौं रोपनी खेतमा लगाइएको धान बाली नष्ट भएको छ ।
स्थानीय जिमाली र मर्म खोलाबाट बाढी उर्लिएर आउँदा त्रिवेणीदेखि स्यानी पिप्लीसम्मको क्षेत्रमा क्षति पुगेको हो । बाढीले सयौँ रोपनीमा लगाएको धान बालीमा क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतियोग्य जमिन कटान गरेको छ ।
त्यस्तै बाढी मानवीय बस्तीमा पुगेर मोटर बाटो पूर्णरूपमा बिग्रिएको छ । बाढीका कारण खोला किनारमा रहेका ५ वटा घरसम्म बढीको उच्च जोखिममा रहेका छन् । स्थानीय नविन रावतको घरमा रातको समयमा बाढी पसेर घरको तल्लो तलामा पानी भरिएको उनले बताए । राती दुई बजेदेखि घरभित्रै बाढी पसेपछि घरको सामान व्यवस्थापन गर्न आफुहरुलाई समस्या परेको रावतले बताए ।
नजिकै इलाका प्रहरी कार्यालय भए पनि उद्दारमा कुनै सहयोग नगरेको रावतको दुखेसो छ । बाढी पसेपछि प्रहरी घरमै आएको तर सामान तथा अन्य उद्दारका काममा सहयोग नगरेर गएको भन्दै रावतले दुखेसो गरेका छन् । स्थानीय बुढापाकाका अनुसार यो बाढी १० यताकै ठूलो भएको बताइएको छ । अहिले पानीको बहाव घटेपछि त्यहाँको अवस्था सामान्य बन्दै गएको छ ।
।