सूचनाको शक्ति - The Power Of Information

        

प्रेमपत्र लेख्ने ‘दिलका डाक्टर’ : एउटा ‘लभ लेटर’को डेढ सयसम्म पाउँथे !


शेरबहादुर थापा । सुर्खेत । पत्रकारिता होस् वा कलाकारिता । साहित्य होस् वा समाजसेवा । जुनसुकै क्षेत्रमा पनि अब्वल मानिने ललित भट्टराई सुर्खेतमा परिचित नाम हो । जुनसुकै कामलाई पनि अरुभन्दा फरक र नयाँ रुप दिने उनको विशेषता हो । छोटो समयमा धेरै प्रगति गर्न सक्ने सुर्खेतका भट्टराई सबैसँग मिलनसार र सहयोगी व्यवहार गर्ने, जस्तोसुकै परिस्थितिमा पनि पछि नहट्ने जुझारु युवा हुन् उनी ।
सानैदेखि आफूभन्दा ठूलाबडाको संगत गर्न रुचाउने ललित संगतकै कारण कहिले धेरै माथि त, कहिले तल पनि झरेका छन् । संगतकै कारण उनी दुव्र्यसनीको शिकार बन्न पुगे भने संगतकै कारण उनी सुधारकसम्म भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीमा जन्मिएका उनी सानैदेखि चञ्चले र गर्न मन लागेको काम गरेरै छोड्ने जिद्दी स्वभावका थिए ।
सधैं बुवाको पछि लागेर हिँड्दा–हिँड्दा उनी बाठा भइसकेका थिए । ‘बुवा समाजसेवी भएका कारण धेरैजसो सार्वजनिक कार्यक्रममा हिँड्नुहुन्थ्यो र म पनि पछि–पछि जान्थे । बुवासँगै देखेर मलाई बुवाका साथीहरूले ‘लिटिल भट्टराई’ भन्दा म मख्ख पर्थे,’ उनले बाल्यकाल सम्झँदै भने । नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय चिसापानीबाट ५ कक्षा पास गरी जन उच्च मावि वीरेन्द्रनगरबाट एसएलसी उत्तीर्ण गरेका उनको अभिनय यात्रा ६ कक्षामा पढ्दादेखि शुरू भयो ।
७ कक्षामा हुँदा उनले ‘आमा’ नाटक लेखे । ८ कक्षामा पढ्दा उनले ‘कुलत’ नाटक लेखे । नेपाली किताबका कथालाई अरुले पढेर सुनाउँथे भने उनले अभिनय गरेरै देखाइदिन्थे । अरुको नक्कल गर्न उनी खुब रुचाउँथें । घरमा सबै परिवार बसेको बेला ‘बुवाले यस्तो भाषण गर्नुभयो’ भनेर अभिनय गरिदिँदा सबैलाई दङ्ग पारिदिन्थे । नाटक लेखन, निर्देशनका साथै अभिनय समेत आफैंले गर्दै आएका ललितले अन्तर मावि स्तरीय नाटक प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए ।
आफूहरूले किताबका कथालाई अभिनय गरेर देखाउन थालेपछि विद्यालयमा पनि अतिरिक्त क्रियाकलाप बढ्दै गएको भट्टराइले बताए । २०५४ सालमा भट्टराईकै अगुवाईमा उज्वल कला परिवार नामको संस्था स्थापना भयो । संस्थाका अध्यक्ष भट्टराई जम्मा १५ वर्षका थिए र १० कक्षामा पढ्दै थिए । त्यतिबेला नै उनी नाट्य विधा प्रमुख पनि भए र पहिलो पटक उनले ‘दशैं कि दशा’ नामक नाटक देखाए । अनि, रेडियो नेपालमा रेकर्ड पनि गराए । जुन नाटक चर्चित भएको थियो ।
सानै उमेरमा धेरै काम सफलताका साथ गर्दै आएका ललित कुलतमा पनि फस्दै गए । पहिलो पटक उनले आफूभन्दा ठूला दाईको संगतमा लागेर रमाइलोको लागि भन्दै अल्कोहल लिए । त्यही १ दिनको रमाइलो उनको लागि धेरै समयको लागि लत बन्यो । त्यो बेला सम्झँदै ललित भन्छन्, ‘त्यतिबेला मैले यो नराम्रो हो, मैले खानुहुन्न भन्ने सोच्नुपर्थ्यो । तर, मेरो दिमागले त्यो सोचेन र लत बढ्दै गयो । पछि मलाई उनीहरूकै संगत मन पर्न थाल्यो । शुक्रबार–शुक्रबार उनीहरूलाई भेट्न जान्थे ।’
उनी २०५६ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भए । क्याम्पस पढ्दाका केही रमाइला पल सम्झँदै ललित भन्छन्, ‘मलाई प्रेमपत्र लेख्न खुब आउँथ्यो, साथीहरू मलाई दिलको डाक्टर भनेर बोलाउँथे । मैले उनीहरूको प्रेमपत्र लेखिदिन्थे ।’ प्रेमपत्र लेखिदिएबापत साथीहरूले ५० देखि १५० रुपैयाँसम्म दिने गरेको उनले बताए । ‘अलि नजिकको साथीबाट पैसा लिने गरेको थिएन, उनीहरूले नास्ता खुवाउँथे,’ उनले भने ।
क्याम्पस जीवनमा उनी क्लासमा हल्ला बढी गर्ने भएपनि शिक्षकले सोधेको प्रश्नको जवाफ फटाफट दिन्थे । उनी भन्छन्, ‘सरले भोलि पढाउने पाठको पूर्वतयारी मैले घरमा राम्रोसँग गरिसकेको हुृन्थे । अनि त सरले जति सोधे पनि मलाई डरै हुँदैन्थ्यो ।’ उनले प्रमाणपत्र तह पार गरिसकेर स्नातक तह अध्ययनका लागि काठमाडौं जाने तयारी गरे ।
‘काठमाडौंमा स्नातक पढ्न जानका लागि बुवालाई मनाउन हम्मेहम्मे पर्यो । धेरै प्रयास र जिद्दीका बिच बुवाले १ वर्षको फि तिरिदिने भएपछि काठमाडौं जान पाउने भयो,’ उनले सम्झिए, ‘काठमाडौं जाने त भए । तर, कहिल्यै नगएको ठाउँ, कहाँ बस्ने, कहाँ पढ्ने, सब अन्यौल थियो । तैपनि बुवाबाट अनुमति पाएपछि फुरुङ्ग थिए ।’
पढ्ने उद्देश्यले गएपनि काठमाडौंमा उनी समय लिएर राष्ट्रिय सभागृहमा नाटक देखाउँथे । काठमाडौंमै रहँदा उनी कुलतमा परे । उनले भने, ‘त्यो समयमा मैले बियर र गाँजा खान्थें ।’ धेरै मात्रामा गाँजा सेवन गर्न थालेपछि उनलाई उपचार गर्न लखनउ लगियो । ‘लखनउमा डाक्टरले राम्रो सल्लाह दिए । त्यसै अनुसार औषधि सेवन गर्न थाले । मलाई पूरै निको भयो । म सामान्य जीवनमा फर्किए,’ उनले भने ।
काठमाडौंमा रहँदा आर्थिक समस्या भएपछि उनी कामको खोजीमा थिए । ‘धेरै समस्यामा परेको बेला १ जनाले काम गर्ने हो भनेर सोध्यो । मैले हुन्छ भने, त्यो काम त ब्राउन सुगर बेच्ने पो रहेछ,’ उनले भने । नसा खान छोडेको मान्छे फेरि ब्राउन सुगर बेच्न थालेपछि नशा पनि शुरू भयो । केही समयपछि उनी सुर्खेत फर्किए । सुर्खेत आउने बित्तिकै उनी सुधारगृहमा ३ महिना बसे । ३ महिनाको उपचारपछि उनी फेरि सामाजिक क्षेत्रमा नै फर्किए ।
आफू सुध्रेको ठाउँ चलाउने मान्छे नभएपछि उनी आफैंले जिम्मा लिएर अहिले सुधार गृह चलाइरहेका छन् । कर्णाली प्रदेशको १ मात्र सुधार गृह भैरव युवा सशक्तिकरणलाई भट्टराईले सशक्त बनाएका छन् । गृहमा अहिले १८ जनाले उपचार भइरहेको छ । गृहबाट हालसम्म करीब ५ सय बढी व्यक्तिले उपचार गराएर फर्किसकेका छन् ।
बाँके, बर्दिया, कैलाली, कालिकोट, जाजरकोट लगायतका जिल्लाबाट मानिसहरू सुधार गृहमा आउने गर्छन् । तर, सुधारगृह सञ्चालनमा सरकारले त्यति चासो नदिएको उनको गुनासो छ । अढाई कठ्ठामा सञ्चालित सुधार गृहमा बगैंचा, पुस्तकालय र खेलमैदान लगायतका अन्य सुविधा छन् । ‘सरकारले सुधार गृहको मापदण्ड पेश गर भनेपछि हामीले त्यसै गर्यौं । अहिले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर भनेको छ, त्यसको आधार पनि पेश गर्दैछौं,’ उनले भने, ‘सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको सुधार गृह बनाएर सञ्चालन गर्ने योजनामा छु ।’
आँटेका काम सधैं पूरा गरेरै छोड्ने ललित भैरव युवा सशक्तिकरण बाहेक अरु पनि संघसंस्थामा आवद्ध छन् । करीब ४ वर्ष जति दुव्र्यसनमा फसेका ललित अब बाँकी जीवन समाजसेवा र युवाको भलाइमा समर्पित गर्ने बताउँछन् । बेरोजगारीले गर्दा युवाहरू दुव्र्यसनमा फस्न सक्ने भन्दै रोकथामका लागि उनले भैरव बेरोजगारी सेवा केन्द्रको पनि स्थापना गरेका छन् । नयाँ दुव्र्यसनी नजन्मिउन् भन्नका लागि केन्द्रको स्थापना गरिएको उनले बताए ।
विभिन्न गैरसरकारी संस्थामा आवद्ध पत्रकारिता र कलाकारितामा बढी रुचि राख्छन् । समावेशी टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहेका उनी उज्वल कला परिवार केन्द्रको अध्यक्ष हुन् । सुर्खेतको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थपेका भट्टराईले कलाकारितामा पनि योगदान पुर्याएका छन् । उनले १ सयभन्दा बढी नाटकमा लेखन, निर्देशन र अभिनय समेत गरिसकेका छन् । उनी भन्छन् ‘सिर्जना जनमानसमा करेन्ट छोड्ने हुनुपर्छ र जनतामा करेन्ट प्रवाह हुनुपर्छ ।’

–लोकान्तरबाट

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार ०५:०२