सूचनाको शक्ति - The Power Of Information

        

सरकार र सुरक्षा अंगका लोगो कन्सल्टेन्सीमा प्रयोग, सुरक्षा निकाय भन्छ : कारबाही गर्छौ


काठमाडौं । डिक्यान नामक एक कन्सल्टेन्सीले नेपाल सरकार तथा तीनवटै सुरक्षा निकायको लोगो दुरुपयोग गर्दै आफ्नो व्यावसायिक विज्ञापन प्रकाशित गरेकोे छ । राजधानीको थापालीमा कार्यालय रहेको उक्त कन्सल्टेन्सीले नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेतको लोगो प्रयोग गरेर सञ्चार माध्यममा विज्ञापन प्रकाशित गरेको छ ।
नेपाल प्रहरीका पूर्वएसएसपी गुप्तबहादुर श्रेष्ठ अध्यक्ष रहेको उक्त कन्सलटेन्सीले सर्वसाधारणलाई आकर्षित गर्न यस किसिमको विज्ञापन प्रकाशित गरेको हो । कन्सलटेन्सीले आफ्नो व्यावसायिक विज्ञापनमा सरकारी तथा सुरक्षा अंगको लोगो दुरुपयोग भएको भन्दै तीनवटै सुरक्षा अंगले आपत्ति जनाएका छन् ।
‘सुरक्षा फौजमा जागीर खानका निम्ति एउटै छानामुनी तयारी कक्षा’ भन्दै नेपाल सरकार र तीनवटा सुरक्षा अंगको लोगो प्रयोग गरिएको छ । यसरी निजी कम्पनीले व्यावसायिक विज्ञापनमा प्रयोग हुनुलाई अवैध भएको भन्दै त्यसविरुद्ध कारबाही अघि बढाउने बताए ।

यो गैरकानुनी हो, कारबाही गर्छौ : सुरक्षा निकाय
पूर्वएसएसपी अध्यक्ष रहेको उक्त कन्सलटेन्सीले नेपाल प्रहरीको लोगो व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिनु गैरकानुनी भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले ‘डिक्यान’ नामक कन्सलटेन्सीले आफ्नो विज्ञापनमा नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेतको लोगो प्रयोग गरेको देखियो, यो गैरकानुनी कार्य भएको बताए ।
‘गैरकानुनी कार्य हो भन्ने प्रष्ट नै छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘यसलाई अब हामीले कानुनअनुसार कारबाही अगाडि बढाउँछौं ।’ त्यस्तै लोगो दुरुपयोग भएकोमा सशस्त्र प्रहरीले पनि आपत्ति जनाएको छ । यो कार्य गैरकानुनी भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी बावुराम पाण्डेले बताए । आफूले विज्ञापन हेर्न नपाएको भन्दै डीआईजी पाण्डेले भने कुनै पनि कम्पनीको विज्ञापनमा सशस्त्र प्रहरीको लोगो प्रयोग गर्न नपाइने भन्दै यसरी दुरुपयोग भएको भए कानुनअनुसार कारबाही हुने बताए ।
नेपाली सेनाले पनि कुनै कम्पनीको व्यापारिक प्रयोजनका लागि नेपाली सेनाको लोगो प्रयोग गर्न नहुने जाएको छ । नेपाली सेनका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले नेपाली सेनाको लोगो दुरुपयोग गर्नेलाई कारबाही हुने बताए । ‘मैले विज्ञापन हेरे, नेपाली सेनाको लोगो प्रयोग गरिएको रहेछ,’ प्रवक्ता भण्डारीले भने, ‘हामीले यस विषयलाई गम्भीर रुपमा लिएका छौं, दुरुपयोग गर्नेलाई कारबाही हुन्छ ।’

यस्तो छ कन्सलटेन्सीको भनाइ
डिक्यान नामक कन्सल्टेन्सीका अध्यक्षसमेत रहेका पूर्वएसएसपी गुप्तबहादुर श्रेष्ठले आफूले विज्ञापन नै नगरेको दाबी गरे । शुरूमा आफ्नो संस्थाले विज्ञापन नै नगरेको तथा प्रकाशित भएको विज्ञापन पनि आफूले नदेखेको बताएका थिए । ‘हामीले विज्ञापन दिएको छैन, कस्तो विज्ञापन आएको रहेछ, अनि कसले दिएको रहेछ थाहा भएन । पहिले विज्ञापन हेरेरमात्रै यसबारे म तपाईलाई भन्छु,’ उनले भने ।
पछि उनले संस्थागत प्रतिनिधित्व गराउनको लागि मात्रै लोगो प्रयोग गरिएको बताए । गलत मनसायले लोगो प्रयोग नगरिएको दाबी गर्दै श्रेष्ठले कानुनविपरीत गएर आगामी दिनमा कुनै पनि कार्य नगर्ने बताए । डिक्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र केसीले सरकार तथा सुरक्षा निकायको लोगो गलत कार्यमा प्रयोग नभएको दाबी गर्दै विज्ञापन दुई वर्षअघि नै डिजाइन भएको र त्यसलाई गलत कार्यमा नभई सेवामुलक कार्यमा प्रयोग गरिएको बताए ।
उनले भने, ‘हाम्रो कन्सल्टेन्सीमा नेपाली सेना तथा नेपाल प्रहरीका अवकासप्राप्त उच्च अधिकारीहरुको समेत लगानी रहेको छ, उहाँहरु सबैले व्यावसायिक हिसाबले नभई सेवाभावले लगानी गर्नु भएको हो ।’ दक्ष जनशक्ति उत्पादनका लागि गरिएको कार्यलाई गलत रुपमा बुझ्न नहुने बताए । उक्त कन्सलटेन्सीको वेवसाइटमा श्रेष्ठको एसएसपीको बर्दीमा र कम्पनीका एड्मिस्टेटिभ अफिसर रहेका पूर्वएसपी गोविन्द पौडलको पनि बर्दीकै फोटो राखिएको छ ।
त्यस्तै कम्पनीका सल्लाहकारमा नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल डम्बर गुरुङ, अवकाशप्राप्त ब्रिगेडियर जनलर भरतबहादुर रायमाझी र हेमकरशम्शेर राणा, नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी अर्जुनजंग शाही तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान निर्देशक राजकुमार राजभण्डारी भने प्रमुख सल्लाहकारमा हेमन्तशम्शेर राणा रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०७:०२