काठमाडौं । पूर्व मनसुन शुरु भएका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा समस्या शुरु भएको छ । चैत, वैशाख, जेठ र असारमा धेरै पानी पर्ने, चट्याङ पर्ने तथा हावा हुरी आउने भएका कारण प्रणालीमा समस्या आउन थालेको हो ।
प्राधिकरणले आफ्नो प्रणालीमा समस्या देखिन थालेको जानकारी दिएको छ । हावाहुरीका कारण पोल तथा तारमा बढी समस्या देखिएको छ । यस्तै चट्याङका कारण प्राधिकरणको सवस्टेसन तथा अन्य भौतिक संरचनामा समेत समस्या खडा भएको छ ।
समस्या समाधानका लागि प्राधिकरणले टोली परिचालन गरेको भए पनि केही स्थानमा सहज रुपमा विद्युत् सञ्चाललनमा ल्याउन समस्या पैदा भएको छ । हावाका कारण तार लत्रने, कतिपय स्थानमा चुडिने जस्ता समस्या पनि देखिएका छन् । राजधानीकै केही स्थानमा समेत त्यस खालको समस्या देखिएको छ ।
हावाका कारण ताल चुडिँदा त्यसबाट भयानक दुर्घटनासमेत निम्तिन सक्ने देखिएको छ । यस्तै अर्थिङ गरिएको प्रणालीमा समेत आगो लाग्ने तथा जल्ने समस्या देखिएको छ । यस्तै कतिपय स्थानममा प्रसारण प्रणालीमा ट्रिप भएको छ । जसका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ ।
राजधानीको बालाजु, कलंकी, बानेश्वर, पुतलीसडक तथा ललितपुरको पाटन, मंगलबजार क्षेत्र र भक्तपुरको मुख्य शहरमा ट्रिप भएको सम्बिन्धत वितरण केन्द्रका प्रमुखले जानकारी दिएका छन् । वर्षाको समयमा यस्ता समस्या देखिन्छन्, समस्या समाधानकका लागि पहल भएको छ । ‘प्राधिकरणको टोली २४ संै घण्टा तयारी अवस्थामा रहेका छन्,’ प्राधिकरणका एक अधिकारीले भने ।
यस्तै ग्रामीण क्षेत्रमा पनि समस्या देखिएको छ । लामो प्रसारणलाइन तथा कम भोल्टेजमा लाइनमा समस्या देखिएको छ । प्राधिकरणले ग्रामीण क्षेत्रमा ११ केभी वितरण प्रणालीबाट सेवा दिएको छ । हावाहुरीका कारण त्यस्तो वितरण प्रणालीमा बारम्बार समस्या देखिने गरेको छ । यस्तै हावाहुरीका कारण समस्या देखिएको त छँदैछ, त्योभन्दा पनि कतिपय स्थानमा चट्याङ पर्दा थप समस्या आउने गरेको छ ।
उता, वर्षाका कारण प्राधिकरणको वितरण प्रणालीमा विद्युत् थप हुन सकेको छैन । पानी कम पर्दा हिँउ पग्लन सकेको छैन । हिँउ नपग्लदा समस्या थपिएको छ । वर्षाका कारण प्राधिकरणको इन्सुलेटर तथा वितरण प्रणालीमा समेत समस्या भएको छ । ट्रिप भएका कारण आधा घण्टासम्म विद्युत् आपूर्तिमा कठिनाइसमेत हुने गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या देखिएका स्थानमा प्राधिकरणको टोली पाँच मिनेटमा पुग्ने र निरुपण गर्ने जानकारी दिए ।
वर्षाको समयमा समान्य समस्या देखिन सक्छ, त्यसलाई लोडसेडिङ नभनीदिन समेत प्राधिकरणले आग्रह गरेको छ । हिउँ पग्लन नपाएका कारण भारतबाट थप विद्युत् आयात गर्नुपरेको समेत प्राधिकरणले जनाएको छ । भारतबाट बिहीबार रातीमात्रै ४८० मेगावाट विद्युत् आयात गरिएको छ । सामान्यता वैशाखमा हिउँ पग्लने र नदीमा पानीको मात्रा बढ्ने गर्दथ्यो ।
यसपटक वैशाख लागेदेखि नै वर्षा भएका कारण हिउँ पग्लन नसकेको बताइन्छ । प्राधिकरणको पावर हब भनिएका मस्र्याङदी, मध्यमस्र्याङदी जस्ता आयोजना पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । प्राधिकरणले कुलेखानी चलाएर विद्युत् आपूर्ति गरिरहेको छ । हावाहुरीका कारण समस्या आए प्राधिकरणको नजिकको कार्यालयमा जानकारी गराइदिन समेत आग्रह गरेको छ ।
।