बाँके । तीन वर्षअघि नेपालगन्जकोे सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने समूहका मुख्य नाइके रिगल ढकाललाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी सोही हत्याकाण्डमा संलग्न अन्य अभियुक्तहरुलाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय सुनाइएको छ ।
सोही घटनामा संलग्न रहेका एक जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले गरेको फैसला अनुसार अन्य अभियुक्तहरु प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको सजाय सुनाएको छ । त्यस्तै, अर्का अभियुक्त सोहनसिंह ढकाललाई १० वर्ष, दिपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्ष कैद सजाय तोकिएको छ ।
अभियुक्तहरु माधव नेपाली, विवाद पाठक, हरि ओली, मनिष चौलागाईँ, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई ३र३ वर्षको कैद सजाय भएको र अभियुक्त दीपक केसीले सफाइ पाएको जिल्ला अदालत बाँकेका श्रेस्तेदार दण्डपानी लामिछानेले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले मानन्धर हत्याकाण्डमा मुख्य अभियुक्त रिगल ढकालसहित १५ जना विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।
सो मुद्दामा बादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता टेकबहादुर थापा र प्रतिबादीको तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल र अधिवक्ता लोकबहादुर शाहसहितका कानुन व्यवसायीहरुले बहस गरेका थिए । मुख्य अभियुक्त ढकाल घटना भए लगत्तै फरार थिए । प्रहरीले गुन्डा नाइकेहरुलाई खोजी–खोजी इन्काउन्टर गर्न थालेपछि उनले २०७२ भदौ ७ गते जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका थिए । हत्याको घटना २०७२ साल असार २८ गते दिनदहाडै भएको थियो । जिल्ला अदालतको फैसलापछि आफूहरुले न्याय पाएको पीडित चेतन मानन्धरका आफन्तजनले बताएका छन् ।
।