सूचनाको शक्ति - The Power Of Information

        

सरकारी ऋणपत्र जत्तिकै सुनचाँदी ऋण पनि ‘असल कर्जा’ सूचीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जा सम्बन्धि ब्यवस्थाको दायरा बढाएको छ । आइतबार निर्देशन जारि गर्दै सुनचाँदी कर्जालाई पनि असल कर्जाको दायरामा ल्याएको छ । पर्याप्त धितो लिएर प्रति ग्राहक बढिमा १० लाख रुपैयाँसम्म प्रवाह भएको सुनचाँदी कर्जालाई असलमा गणना गर्न पाइने ब्यवस्था गरेको हो ।
यसअघि सुनचाँदी असल कर्जामा वर्गीकरण गरिए पनि पछि हटाइएको थियो । हटाएपछि सरकारी बैंकहरु, जसले गाउँगाउँमा सुनचाँदी धितोमा ऋण दिन्छन् उनीहरुलाई अप्ठेरो परेको थियो । त्यही अप्ठेरो फुकाउनलाई राष्ट्र बैंकले १० लाखको थ्रेसहोल्ड राखेर असल ऋणमा सुनचाँदी कर्जा थपिदिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
यसवाहेक मुद्दति रसिदको धितोमा गएको कर्जालाई पनि असल मै गणना गर्न पाइने ब्यवस्था थियो । यसलाई राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसैगरी सरकारी तथा राष्ट्र बैंकले जारि गर्ने ऋणपत्रको धितोमा गएको ऋणलाई पनि असल कर्जामा गणना गर्न पाइन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ११:००