सूचनाको शक्ति - The Power Of Information

        

‘महिला स्वस्थ भएमात्र देश स्वस्थ’


देवी भण्डारी । दाङ । महिलाको स्वास्थ्य स्वास्थ्यविना देशको आर्थिक समृद्धि हुन नसक्ने बताइएको छ । संकल्प महिला सञ्चार संस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज घोराहीमा आयोजना गरेको महिलाको स्वास्थ्यमा परिवारको चासो विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
महिला घरको समृद्धिको आधार भएको बताउँदै सहभागिहरुले महिलाको समृद्धिबिना घरपरिवार समाज, समुदाय र राष्ट्रकै समृद्धि हुन नसक्ने भएकाले समृद्धिको आधार महिलाको स्वास्थ्यमा सरकार नै बढि जिम्मेवार हुनुपर्ने बताए । सहभागिहरुले समृद्धिको आधार महिला, महिलाको पूर्णस्वास्थ्य विना समृद्धिको कुरा हुन नसक्ने भएकाले महिलाको स्वास्थ्यमा सबै जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघका स्टाफ नर्स सरिता तामाङले परिवार स्मार्ट हुनका लागि पनि महिलाहरुको स्वास्थ्यमा घरपरिवारले विशेष ध्यान दिनुपर्ने दायित्व रहेको बताइन् । तामाङले लैङ्गिकतालाई आधार मानेर जबसम्म घरपरिवारले महिलाको स्वास्थ्यको बारेमा चासो लिदैनन् तबसम्म एउटा महिला स्वस्थ रहन नसक्ने बताइन् ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानेले महिलाको स्वास्थ्यमा परिवारको चासो बढाउनका लागि पनि संविधानमा स्थापित अधिकारलाई कार्यान्वयन गर्न जरुरी रहेको बताइन् । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिद्धिकीले बिद्यालय स्तरबाटै स्वास्थ्यका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।
अखिल नेपाल महिला संघका मिना गुरुङले अभिभावकहरुबीच अन्तरक्रियाका साथै बालबिवाह र लागुऔषध तथा दुब्र्यसनी न्यूनीकरण गर्न जरुरी रहेको बताइन् । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले महिलाको स्वास्थ्यमा घरपरिवार सबैले बिशेष ध्यान दिन सकेमात्र समुन्त देशको विकास हुने बताए । दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयले महिलाको स्वास्थ्यमा परिवारको महत्वपूर्ण भूमिका रहने हुँदा महिला स्वास्थ्यका विषयमा सचेतना दिन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका लोकमणी रेग्मी, पत्रकार महिला मंञ्का अध्यक्ष रञ्जिता शर्मा, डब्लुडब्लुजे दाङका अध्यक्ष सन्ध्या रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सुशीला आचार्य, पत्रकारहरु देवी भण्डारी, सपना बोहरा, बिमला घर्ती, समीक्षा गाहा लगायतले बोलेका थिए । संकल्प महिला सञ्चार संस्थाका उपाध्यक्ष बसुन्धरा गौतमले स्वागत मन्तब्य दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव माया पोख्रेलले गरेकी थिइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ११:४९