सूचनाको शक्ति - The Power Of Information

        

राना थारू भाषाबारे अनुसन्धान गरिँदै


कञ्चनपुर । भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ । राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो । लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ ।
विद्यालयमा पठनपाठनका सामग्री कस्ता छन्, शिक्षकले विद्यार्थीलाई पढाएको कुरा बुझे÷नबुझेको र उनीहरुको अभिरुचिका बारे यहाँ रहेका २४ वटा विद्यालयमा टोलीहरु खटाएर अध्ययनको कार्य भइरहेको भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले बताउनुभयो । देशभरिमा दशवटा गाउँपालिका मातृभाषामा पढाइ शुरु गर्नका लागि छनोट गरिएका छन् जसमध्ये प्रदेश नं ७ को कञ्चनपुरको लालझाडी गाँउपालिका छनोटमा परेको हो ।
अनुसन्धानका क्रममा आधारभूत तहको कक्षा ३ सम्म नेपाली, गणित र विज्ञान लगायतका सबै विषय मातृभाषामा पढाइ गर्न सकिने देखिएको उपसचिव भट्टराईले बताए । ‘यसका लागि गाउँपालिकाका अध्यक्षसमेत सकारात्मक देखिनुभएको छ,’ उनले भने । गाउँपालिकाका अध्यक्षले राना भाषामै पढाइको व्यवस्था मिलाउन सकिने आश्वासन दिएको उनको भनाइ रहेको छ ।
आयोगको टोलीले गाउँपालिकामा रहेका २४ वटै विद्यालयमा राना थारू भाषाको पाठ्यपुस्तक लागू गर्नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राना थारू अगुवा, शिक्षक, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतसँग छलफलसमेत गरेको छ । टोलीमा भाषा आयोगका उपसचिव भट्टराई, भाषाविज्ञ डा डिल्लीराम रिमाल र भाषा आयोगका लेखा अधिकृत दावा शेर्पालगायत रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ०६:४४