सूचनाको शक्ति - The Power Of Information

        

नेकपाका जिल्ला इन्चार्ज भन्छन्, ‘क्रान्ति रोकिदैन’


कविता उपाध्याय । रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइँको मोर्चामा रहँदासम्म क्रान्ति नरोकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा बिहीबार रोल्पाको लिवाङ्गमा सम्पन्न ‘कथित वामसरकार, लोकतन्त्र र बैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तोे बताएका हुन् ।
उनले भने, ‘हामी हिजोको जस्तो चौकी हान्ने, जंगल पस्ने क्रान्ति गर्दैनौ । हिजोको क्रान्तिले काटमार र हत्याहिंसा बुझायो आजको हाम्रो क्रान्ति भनेको आमूल परिवर्तनका लागि शान्तिपूर्ण हुनेछ । तर आजफेरि रगत नै बग्दैन भन्ने चाहि होइन क्रान्तिमा बलिदानी हुन्छ अलिअलि रगत बग्न सक्छ । आजको क्रान्तिका मुख्य हतियार भनेका जनता हुन् । मानसिक रुपले जनता सुसज्जित नहुँदासम्म हामी क्रियाशिल रहीरहनेछौं ।’


सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने झूठा नाराको आडमा बाम सरकारले सत्ता कब्जा गरेको उनको आरोप छ । लोकतन्त्रमा नेता गरिब हुन्छ, जनताको समृद्धि हुँदै जान्छ, तर नेपालमा यस्को विपरित नेताको समृद्धि हुँदै गएको छ भने जनता झनझन गरिब हुँदैछन् । जनताका अधिकारहरु कुण्ठित गरिँदैछन् के यही हो लोकतन्त्र ? उनले सत्ताधारीतर्फ इंगित गर्दै प्रश्न गरे । यसरी राष्ट्रियताको स्वाधिनतामा संकट आयोभने देश उथलपुथल हुन सक्ने भन्दै उनले चिन्तासमेत प्रकट गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासले नेपाली जनताले जनयुद्ध पार गरेर आएको भएपनि क्रान्ति अधुरो रहेको हुँदा आफूहरुले यस्को नेतृत्व गरिरहेको बताए । नेपालमा अझैपनि जातीय तथा क्षेत्रिय उत्पीडन रहिरहेको हुँदा आफूहरु क्रान्तिमा होमिनु परेको बताए । ‘हिजो हामी घस्रिन्थ्यौं, आज हिड्दैछौं भोलि दौडिन्छौं र पर्सी उडान भर्छाै । दशवर्षे सशस्त्र युद्धका बेला लाशको चाङमा टेकेर नेता भएका रक्त पिपासु जुकाहरु सिंहदरबारमा छिरेर जनतालाई दमन गरिरहेका छन्, उनले प्रचण्डतर्फ इंगित गर्दै भने ।
२०५२ सालभन्दा अगाडि प्रचण्ड एमालेसँग मिलेर गएको भए १७ हजार जनताको रगतको खोला नबगाएको भएपनि आजको जति सुविधा त्यसैबेला प्राप्तहुने उनको भनाइ छ । कार्यक्रममा नेकपाका कार्यकर्ताहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०५:३१