कविता उपाध्याय । रोल्पा । ‘प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ,’ रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भनिन् । ५० वर्षीया डाँगी सहिदपत्नी हुन् । सशस्त्र युद्धका समयमा श्रीमानको हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदूरी गर्दै आएकी छन् । संघीयताको त कुरै छाडौं नयाँ संरचनापछि उनलाई आफ्नो वडा कति नम्बरमा पर्छ भन्ने कुरासमेत थाहा छैन ।
‘श्रीमान् शिक्षक हुनुहुन्थ्यो । २० वर्ष पहिले स्कूल गएका श्रीमान्लाई पुलिसले मारे भन्ने खबर आयो । उनको मृत्युपछि सरकारले दिएको राहतले छोराछोरी पढाउँदै आएकी छु । आफूले ढुंगामाटोको काम गरेर कमाएको ज्यालाबाट साँझ बिहानको गुजारा चल्छ,’ उनले लामो श्वास लिँदै भनिन् । डाँगीलाई आजसम्म पनि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका बारेमा केही थाहा छैन ।
‘सुन्न त सुनेकी छु, सुनेपनि के काम, मजदूरका दिन कहिले फेरिएलान् ?’ उनको राज्यसँग प्रश्न छ । प्रेम विवाह गरेकी डाँगी बिहेपछि श्रीमान्सँग करिब १२ वर्षमात्र सँगै बसेकी छन् । युद्धका नाममा श्रीमानको हत्या नभएको भए आज डाँगीलाई ढुंगामाटोमा दिनरात बिताउनु पर्ने थिएन कि जस्तो लाग्छ । आम शिक्षकका परिवार जस्तै उनको परिवारमा पनि श्रीमान्को तलबबाट जीविका चल्ने थियो भन्ने उनलाई लाग्छ ।
पटकपटक चुनावमा प्रचार गर्न जानेले सहिद परिवारलाई गाडी भाडा बिना नै यात्रा गराउने आश्वासन बाँडेको भएपनि त्यो पूरा हुन नसकेपछि उनमा गुनासो रहिरहेको छ । ‘जे दिवस आए पनि हामीलाई केही फरक पर्दैन, हाम्रा दिन फेरिएनन् । अब त फेरिएलान् जस्तो पनि लाग्दैन,’ उनले भनिन् । डाँगीलाई आफ्नोभन्दा अझ बढी छोराछोरीको भविष्यको चिन्ता छ । उनका अनुसार राहतबाट आएको रकमले छोरा काठमाडौँमा पढ्दैछ ।
‘जेठी र कान्छी छोरी सानै उमेरमा आफैँ विवाह गरेर गइसके । माइली छोरी मसँगै छे । दुःखसुख गरेर लिबाङको एक विद्यालयमा पढाइरहेकी छु,’ उनले सुनाइन् । सन्तानले धेरै पढ्नसके केही गर्लान् कि भन्ने आशा भए पनि छोरीहरु बालविवाह गर्दै जानाले उहाँलाई बेलाबेला थप निराश बनाउने गरेको छ । डाँगीजस्तै परिवर्तन गाउँपालिका–५, रोल्पाका अनिलकुमार घर्तीले पनि जिल्ला सदरमुकाममा करिब १२ वर्षदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् ।
३९ वर्षीय घर्तीका अनुसार दिनभरि ढुंगामाटोमा पसिना चुहाएमात्र उनको परिवारले साँझ बिहान पेटभरि खान पुग्छ । एकदिन बिरामी भए वा काममा अल्छी गरे भोकै बस्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाउनु भयो । यसअघि मजदूरीका लागि भारतका विभिन्न स्थानमा लामो समय खर्चिएका घर्तीले २०६२/०६३ को आन्दोलनपछि नेपालमै मजदूरका दिन फेरिन्छन् भन्ने सुनेर स्वदेश फर्किएका थिए ।
यसरी स्वदेश फर्किएका घर्तीले कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको चर्चा चलेको सुन्दै आएका छन् । तर पनि मजदूरका जीवनमा कुनै तन्त्रले पनि सकारात्मक प्रभाव छोड्न नसकेको उनको अनुभव छ । आफ्नो जीवनमा उनले इच्छाएको पार्टी र नेता रोज्दै करिब छ/सात पटक भोट हालिसकेका छन् । मजदूरका लागि न त कुनै तन्त्रले केही ग¥यो न त आफूले जिताएका नेताले नै आफूहरुका बारेमा केही सोचेका छन्, उनले दुःखेसो पोखे ।
ढुंगामाटोमै पसिना चुहाउँदै आएका घर्तीले दुई सन्तानलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । तर सन्तानका दिन पनि नफेरिएलान् कि भन्ने विषयमा उनलाई हरपल चिन्ता छ । यस्तै, रोल्पा नपा–८ का ३८ वर्षीय तेजराम खत्रीले पनि रोजगारीका लागि कतार, मलेसिया लगायतका विभिन्न स्थानमा वैदेशिक रोजगारीका शिलशिलामा लामो समय खर्चिसकेका छन् । बिहे गरेको केही समयमै बाँकी जीवन सुखसँग बिताउने आश्वासनसहित श्रीमतीलाई घरमै छोडेर रोजगारीका लागि हिँडेका खत्रीको पनि वैदशिक रोजगारीले जीवनमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन ।
विदेशमा सोचेअनुरुप कमाइ नभइरहेकै बेला देशमै जनताका दिन फेरिन्छन् भन्ने सुनेपछि उनी पनि स्वदेश फर्किए । दशवर्षे सशस्त्र युद्धले उथुलपुथल भएको रोल्पा र रोल्पालीका दिन फेरिने, युवाले रोजगारी पाउने भन्ने खबर पाएपछि उनी निकै उत्सुकताका साथ घर फर्किएका थिए । अब रोजगारी पाए परिवार पाल्न सजिलो हुनेछ भन्दै घर फर्किएका खत्रीका पर्खाइमै दिन बितिरहेका छन् । उनले पनि सदरमुकाममा ढुंगामाटो गरेर जीविका चलाउँदै आएका छन् । तर बूढेसकालमा काम गर्न नसक्दा पो के गर्ने भन्ने चिन्ताले उनलाई बेलाबेला पिरोल्ने गर्छ । अरु केही नभए पनि सरकारले मजदूरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा दिनसके पनि ठूलो राहत हुने थियो, उनी भन्छन् ।
यसैगरी, साविकको पाछाबाङ गाविस–६, रोल्पाका शर्मिला बूढा हाल ३५ वर्षकी छिन् । उनीले पनि जिल्लामा लामो समयदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएकी छन् । ‘आठ/नौ वर्षदेखि वैदेशिक रोजगारीमा पुगेका श्रीमानको कमाइ ऋण तिर्दैमा ठिक्क छ । अझै तीन वर्ष आउनुहुन्न होला,’ उनले भनिन् । आफूले कमाएको कमाइ घरखर्चमै तथा श्रीमान्को तलब ऋण तिर्नमै ठिक्क भएपछि उनको जीवनमा नयाँ प्रगति हुन सकिरहेको छैन । देशमा विभिन्न राजनीतिक उतारचढाव आइरहे पनि मजदूरका भविष्यका बारेमा कसैले पनि नसोच्दा दिक्क लाग्ने गरेको उनले बताइन् । श्रम गरेअनुसार जीवनमा परिवर्तन नआउँदा दुःख लाग्ने गरेको उनले बताइन् । सबैजसो मजदूरले आफ्नोभन्दा पनि आफ्ना छोराछोरीको भविष्यको चिन्ता गरेका छन् । यसतर्फ समयमै सरोकारवालाको ध्यान जानुपर्नेमा मजदूरको सुझाव छ ।
।