सूचनाको शक्ति - The Power Of Information

        

मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त


रेनुका गिरी । बुटवल । मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा वर्तमान अध्यक्ष दधिराम खरेल र पूर्वअध्यक्ष दामोदर ज्ञवालीबीच प्रतिस्पर्धा हुने भएको छ । यही माघ २८ र २९ गते हुने संघको अधिवेसनको लागि खरेल र ज्ञवालीको उम्मेदवारी परेको हो ।
पश्चिम नेपाल बस व्यवसायी संघलाई यातायात व्यवसायीको सबैभन्दा ठूलो र सशक्त समिति मानिन्छ । संस्थाको करिब २६ करोडको बार्षिक बजेट रहेको छ । २ हजार ३ सय बस व्यवसायी यो संस्थासँग आबद्ध छन् । बुटवलमा बस समितिको चुनाबमा झण्डै दलका संसदीय चुनावको झल्को दिनेगरी प्रतिस्पर्धा हुने गरेको छ ।
माओवादी केन्द्र निकट दधिराम खरेल वाम गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । अघिल्ला दुई कार्यकालमा उनी कांग्रेसको समर्थनमा अध्यक्ष बनेका थिए । त्यसबेला कांग्रेस र माओवादी एकातिर अनि एमाले समर्थित अर्कोतर्फ भएर चुनावमा सहभागी भएका थिए । गत निर्वाचनमा एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि बस समितिको चुनावमा पनि त्यसको असर परेको छ ।
खरेल यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पनि भइसकेका छन् । त्यस्तै दामोदर ज्ञवाली पनि महासंघको वरिष्ठ उपाध्यक्ष हुन् । ९ वर्षसम्म पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष रहेका ज्ञवाली कांग्रेस निकट हुन् । अघिल्ला २ कार्यकाल माओवादी केन्द्रसँग सहकार्य गरेर चुनाबमा भिडेका कांग्रेस निकट व्यवसायीले अहिले वाम गठबन्धनको सामना गर्दैछन् ।
अध्यक्षका प्रत्यासी खरेलले बस व्यवसायमा मौलाउँदै गएको दलालीकरणलाई अन्त्य गर्न उम्मेदवारी दिएको बताएका छन् । ‘व्यवसायीभन्दा पनि संघमा व्यापारीहरुको संख्या बृद्धि भएको छ,’ उनले भने, ‘त्यसैले व्यवसायीको अनुरोधमा मैले उम्मेदवारी दिएको हुँ ।’ उता संघका पूर्व अध्यक्षसमेत भइसकेका ज्ञवालीले व्यवसाय बचाउनको लागि उम्मेदवारी दिएको बताए । ‘संघ अहिले सबैभन्दा बढी कमजोर अवस्थामा पुगेको छ,’ उनले भने, ‘ यसलाई धरासायी हुनबाट बचाउन उम्मेदवारी दिएको हुँ ।’
खरेल प्यानलबाट नारायण घिमिरेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी यसअधि पनि सोही पदमा रहेका थिए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका कृष्णप्रसाद बेलबासे हुन् । त्यसैगरी २ उपाध्यक्षको लागि उपेन्द्रमान श्रेष्ठ, एलजी शाह गुप्ता, जीवनकुमार बन्जाडे र गोपालप्रसाद पौडेलको उम्मेद्वारी परेको छ ।
महासचिवमा पदमराज गाहा र पोष्टराज गौतमले उम्मेदवारी दिएका छन् । सचिवमा कुश्माखर रेग्मी, सन्तोष पुन र रामचन्द्र भुसालले मनोनयन दर्ता गराएका छन् । दुई जना सहसचिवको लागि शोभाखर भण्डारी, सुरेन्द्र श्रेष्ठ, गोविन्द कँडेल, चेतनारायण बेलबासेको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा कृष्ण पाण्डे र मोहन पिएस भिड्दै छन् ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार १०:१२