सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा उठ्यो आठौँ प्रदेश बनाउने माग


बाँके । प्रदेशको राजधानी माग्दै देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेलामा नेपालगन्जमा सीमांकन नै हेरफेर गर्नुपर्ने आवाज उठेको छ । अहिलेको सीमांकनलाई हेरफेर नगर्दासम्म नेपालगन्ज प्रदेशको राजधानी हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका माननीय तथा नेताहरुले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई मिसाएर छुट्टै प्रदेश निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘हामी आठौं प्रदेशको लडाइँमा लागौं,’ पापडले नेपालगन्जमा आयोजना गरेको प्रदेश राजधानीबारेको अन्तरक्रियामा माननीय तथा नेताहरुले भने, ‘छुट्टै तरिकाले अघि नबढ्दासम्म नेपालगन्ज राजधानी नहुने भयो ।’ सांसद इस्तियाक राईले कैलाली, कञ्चनपुरलाई यता तराईका अन्य जिल्लासँग समेटेर छुट्टै थरुहट प्रदेश निर्माणमा लाग्नुपर्ने बताए ।
विधायकहरु सुरेन्द्र हमाल, विजयबहादुर यादव, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वारका अध्यक्ष बलबहादुर चन्दले शान्तिपूर्ण र मर्यादित आन्दोलनको आवश्यकतामा जोड दिए । एमालेका जिल्ला सचिव रत्न खत्रीले पत्रिकामा नाम लेखाउनका लागि मात्रै नभएर साँच्चिकै आन्दोलन गर्ने हो भने पार्टी भन्दा माथि उठेर सडकमा उत्रिन आव्हान गरे ।
उनले दाङदेखि कञ्चनपुरसम्मका जिल्लालाई एउटा राज्य बनाएर दंगालीलाई विश्वास लिएर या बाँके र बर्दिया प्रदेश नम्बर ६ मा मिसाएर कर्णाली अञ्चललाई विश्वासमा लिएर मात्रै नेपालगन्ज प्रदेशको राजधानी हुन सक्ने विचार राखे । छलफलमा नेताहरुले बुटवललाई राजधानी नमान्ने उद्घोष गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेश राजधानीको माग राख्दै शुक्रबारदेखि नेपालगन्जमा सडक आन्दोलन गर्ने गर्ने तुलसीपुर उच्च अदालत वार एशोसियसनका अध्यक्ष बलबहादुर चन्दले बताए । शान्तिपूर्ण र मर्यादित सडक आन्दोलनमा सहभागी हुनका लागि पापडले नेपालगन्जवासीलाई आव्हान गरेको छ ।
यता, प्रदेश राजधानीको माग गर्दै दाङमा भैरहेको अनिश्चितकालिन आम हड्तालको क्रममा बन्दकर्ताहरुले सरकारी कार्यालयको काम काज समेत ठप्प पारेका छन् । दाङको लमही क्षेत्रमा रहेका एक दर्जन वढी सरकारी कार्यालयमा पुगेर वन्दकर्ताहरुले कार्यालयको सेवा समेत बन्द गराएका हुन् ।
‘प्रादेशिक राजधानी दाङलाई नवनाउने सरकारी निर्णयको विरुद्धमा हामी छौं, सरकारलाई असहयोग हुने कार्यक्रम गर्छौं,’ स्थानीय पवन शर्मा रिजालले भने, ‘नगरपालीका, वडा कार्यालय, मालपोत, नापी, भुजवी, प्रगन्ना, जनताको तटवन्ध लगाएतका कार्यालयमा पुगेर सेवा सुरु नगर्न भनेका छौं र काम काज ठप्प पारेका छौं ।’ अनिश्चितकालीन आम हड्तालको तेस्रो दिन पनि दाङ वन्द छ । यहाँको बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था, यातायात सवै ठप्प हुदा जनजिवन पूर्णरुपमा प्रभावीत हुन पुगेको छ ।
सरकारले प्रदेशको राजधानी वुटवल तोकेपछि दाङमा आन्दोलन सुरु भएको हो । राजनैतिक दलहरुले आन्दोलनको नेतृत्व सम्हालेपछि आम हड्ताल झनै आक्रामक बन्न पुगेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग ठप्प हुदा यात्रुहरु भने अलपत्र परेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०८:१८