सूचनाको शक्ति - The Power Of Information

        

औषधि र डाक्टरको टोलीसहित पूर्वगृहमन्त्री जाजरकोटमा


जाजरकोट । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चौधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएको भाइरल नियन्त्रणमा आउन सकेको छैन । भाइरलका कारण अहिलेसम्म १३ जनाको ज्यान गइसकेको छ भने कैयन संक्रमित छन् । प्रकोप नियन्त्रणमा नआइरहेका बेला शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितको टोली वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका छन् ।
जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । जाजरकोटमा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षभन्दा कम उमेरका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् । उनका अनुसार प्रकोप क्षेत्रको मस्कोट स्वास्थ्य चौकीले उपचारको समन्वय स्थलको काम गरिरहेको छ ।
उनले थपे, ‘सबैभन्दा बढी प्रभावित वडा नम्बरहरु १, २, ३ र ५ नम्बरमा रहेको छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले आवश्यकता भएको ठाउँमा पुगेर उपचार सुरु गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटबाट काठमाडौँ लगेर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार ०८:४७