सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज औद्योगिक क्षेत्रमा वायु प्रदुषण


बाँके । नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रदुषण गरेको पाइएपछि निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाधुलोले नगर क्षेत्रको वायू प्रदुषण गरेको व्यापक जनगुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे पत्राचार गरेपनि त्यसको सुनुवाई नभएपछि उपमहानगरपालिकाले माथिल्लो तहमा दवाव बढाएको हो ।
उपमहानगरपालिकाका तर्फबाट असोज २९ गते नेपाल सरकार वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ ले उल्लेख गरेको मापदण्डअनुसार गर्न गराउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अनुरोधसहितको पत्राचार भएको थियो । पत्राचारपछि त्यसको सकरात्मक प्रतिक्रिया र सुधार नभएपछि आवश्यक मापदण्डबारे थप खोजवीन गर्न र कानूनी दायरामा ल्याउन थालिएको छ । पत्राचारअनुसार औद्योगिक क्षेत्रले जवाफ नपठाएको भन्दै उपमहानगरपालिकाले कार्तिक २० गते वातावरण मन्त्रालय वातावरण विभागका महाप्रवन्धकलाई विज्ञसहितको टोली पठाई आवश्यक अनुगमन गर्न र मापदण्ड पुरा नगरेका उद्योगमाथि कानूनी कारवाहीको प्रक्रिया बढाइदिन पत्राचार गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले धुलो धुवा निस्कीने उद्योगलाई आवश्यक सुधारका लागि ताकेता गरिएको जीकीर गर्नु भयो । पुनका अनुसार औद्योगिक क्षेत्रभित्र ३८ वटा उद्योग रहेका छन् । जसमध्ये धुवाधुलो गर्ने उद्योग ३ वटा मात्र रहेका छन् । उपमहानगरपालिकाका मेयर राणाले उद्योग मापदण्डबारे थप अध्ययनका लागि अनुरोध गरिसकिएकाले व्यस्थापन तथा सम्वोधनको पहल हुने विश्वास व्यक्त गरे । वायु प्रदुषणबारे मेयर राणाले उद्योग राज्यमन्त्री रेशम लामालाई अवगत गराएपछि मन्त्री लामाद्वारा स्थलगत निरिक्षण तथा आवश्यक निर्देशन पनि भएको छ । मन्त्री लामाले उद्योगलाई समय सापेक्ष र वातावरण मैत्री बनाउन सम्वद्ध उद्योगीलाई निर्देशन गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०६:१७