सूचनाको शक्ति - The Power Of Information

        

वाम र लोकतान्त्रिक गठबन्धन : कसको हैसियत कति ?


काठमाडौं । एमाले माओवादी केन्द्रले वामपन्थी गठबन्धन निर्माण गरेर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि नेपाली कांग्रेसले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेको छ । पहिलो गठबन्धनमा मुख्य रुपमा एमाले र माओवादी केन्द्र छन् भने विघटित व्यवस्थापिका–संसदमा तीन स्थान रहेको नेकपा (संयुक्त) माओवादी केन्द्रमा विलय भइसकेको छ । वैचारिक रुपमा यही गठबन्धन निकट देखिएका माले, राष्ट्रिय जनमोर्चा र नेमकिपाले यसमा सामेल हुने नहुने निर्णय गरिसकेका छैनन् ।
एमाले–माओवादी केन्द्रद्धारा निर्मित वाम गठबन्धनको तुलनामा कांग्रेस नेतृत्वमा गठन गरिएको गठबन्धनमा प्राप्त मत र स्थानीय तह एवं विघटित प्रतिनिधि सभाका सिट संख्याका दृष्टिले मध्यम हैसियत राख्ने दलहरु धेरै छन् । कांग्रेसका अलवा यो गठबन्धनमा संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), फोरम (लोकतान्त्रिक) सामेल छन् । सुरुमा वाम गठबन्धनमा सामेल बाबुराम भट्टराई नेतृत्व नयाँशक्ति पनि यही गठबन्धनमा सामेल हुने सम्भावना बढेको छ । दुई गठबन्धन मध्ये वाम र लोकतान्त्रिक गठबन्धनका विशेषता, हैसियत, शक्ति र वैचारिक अडान निम्न बमोजिम रहेको देखिन्छ ।

वाम गठबन्धन

यो दुई ठूला वामपन्थी दलहरुको गठबन्धन हो, यसका मुख्य दलहरु एमाले र माओवादी केन्द्र हुन् । समान सैद्धान्तिक दृष्टिकोण भएका कम्युनिष्ट पार्टीहरु यो गठबन्धनमा सामेल भएका छन् । गठबन्धनमा सामेल मुख्य दल एमाले र माओवादी केन्द्रको देशव्यापी रुपमा प्रभाव छ । यो गठबन्धनले खासगरी पहाडी भूभाग र पूर्वी–पश्चिम तराईमा प्रभाव जमाउने देखिन्छ । मत : ४८ लाख ५४ हजार (एमाले र माओवादी केन्द्र) । केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल गरी ४ जना पूर्व प्रधानमन्त्री छन् । धर्मनिरपेक्षतावादीहरुको बाहुल्यता रहेको यो गठबन्धनले आर्थिक सम्बृद्धि र समाजवादलाई आफ्नो ध्येय बनाएको छ ।

लोकतान्त्रिक गठबन्धन

यो गठबन्धनमा लोकतन्त्रवादीदेखि राजावादीसम्म सामेल छन्। यसको मुख्य दल नेपाली कांग्रेस हो । यसमा मध्यमस्तरका प्रभाव भएका झण्डै आधा दर्जन दल छन् । दलहरुमा समान सैद्धान्तिक दृष्टिकोण देखिन्न । कांग्रेसबाहेक अन्य दलको प्रदेशगत र कतिपय दलको जिल्ला र अनि गाउँपालिकास्तरमा मात्र प्रभाव छ । मूलत २ नम्बर प्रदेश र ५ नम्बर प्रदेशको तराई–मधेशमा यो गठबन्धनले प्रभाव जमाउने देखिन्छ । मत : ४२ लाख ७० हजार (कांग्रेस, राजपा, फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, नयाँशक्ति) । शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई गरी ३ जना पूर्व प्रधानमन्त्री छन् । हिन्दूवादी राप्रपाको उपस्थितिका कारण यो गठबन्धन धर्मनिरपेक्षताका सम्बन्धमा अस्पष्ट छ भने सामुहिक वैचारिक दृष्टिकोण पनि छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार ०५:४८