सूचनाको शक्ति - The Power Of Information

        

उत्तरी सीमा हिल्सामा किन पुगे भारतीय राजदूत ?


बाँके । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी सोमबार अचानक नेपाल–चीन (तिब्बत) सीमा हुम्लाको हिल्सा पुगेर फर्किएका छन् । नेपालगन्जबाट नियमित उडानमा सोमबार बिहान हुम्ला विमानस्थल ओर्लिए । पुरी त्यहाँबाट सोझै सिम्रिक एयरको चार्टड हेलिकोप्टरमा नेपाल–चीन नाका हिल्सा पुगे । आफ्ना अंगरक्षकसहित चारजनाको समूहमा रहेका राजदूत पुरीले हिल्सामा २० मिनेट बिताएर फर्किए । सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक निल लामालाई ‘वर्षेनी हजारौं धार्मिक पर्यटक कैलाश मानसरोवरका लागि आउने स्थान हेर्न आएको’ बताएका उनले सीमा चौकीमा केही मिनेट बिताएका थिए । उनले नेपाल–चीन सीमाका विषयमा समेत जानकारी लिनुका साथै सहयोगीका साथ केही समय हिल्साको वस्तुस्थिति अवलोकनसमेत गरेका थिए ।
प्रदेश ५ का प्रहरी प्रमुख एआइजी रणबहादुर चन्दले राजदूत पुरी हुम्ला पुगेको खबर आफुले पाए पनि उनको भ्रमणको उद्देश्यका विषयमा केही जानकारी नभएको बताए । उनले राजदूत पुरी हुम्ला पुगेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी कमल नेपाल मार्फत जानकारी आएको बताए । ‘महामहिम आउनुभएको छ भन्ने खबर पाएँ, उहाँको भ्रमणका विषयमा माथिबाट कुनै जानकारी आएन,’ एआइजी चन्दले भने । डिएसपी कमल नेपालले राजदूत पुरी केही समय विमानस्थलमा बसेर हिल्सातर्फ गएको र करिब एघार बजे नेपालगन्ज फर्किएको बताए । नेपालस्थित भारतीय राजदूतावासका प्रवक्ता रुबी जसप्रित शर्माले राजदूत पुरी कैलाश मान सरोवरको यात्राका विषयमा जानकारी लिन हुम्ला गएको बताइन् । ‘उहाँ भारतीय तिर्थालुको गन्तव्य बनेको कैलाश मानसरोवरका विषयमा बुझ्न स्थलगत भ्रमणमा जानुभएको हो, सोमबार नै काठमाडौं फर्किसक्नु भयो,’ प्रवक्ता शर्माले भनिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलवार ०५:११