Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 10:31 pm

उपनिर्वाचन २०७६ : काेहलपुर–६ मा नेकपाले भत्कायो काँग्रेसको विरासत

‘राम्रो काममा हाम्रो पूर्ण साथ रहन्छ । अन्यथा हामी आलोचनात्मक रुपमा अघि बढ्छौं ।’

बाँके । वडाध्यक्ष पदका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो विरासत गुमाएको छ । कोहलपुर–६, का तत्कालीन वडाध्यक्ष रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो विरासत जोगाउन नसकेको हो ।

उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो पुरानै विरासत गुमाएको छ भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जीत निकाल्दै काँग्रेसको विरासत भत्काएको छ । उपनिर्वाचनमा नेकपाका रामशरण थारु वडाध्यक्ष विजयी भएपछि आफ्नो विरासत गुमाएको काँग्रेसले हारको कारणबारे समीक्षा गर्दै वडाको विकासमा रचनात्मक सहयोग गरेर अघि बढ्ने जनाएको छ ।

गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए । काँग्रेसले आफ्नो गढ मान्दै आएको कोहलपुर–६ मा नेकपा ६४ मतान्तरले पहिलो स्थानमा देखिएको हो । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वारले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेद्वारले २७३ मत प्राप्त गरेका थिए ।

पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाले दावी गर्दै आएको थियो । गत निर्वाचनमा राप्रपाले ८७ मत ल्याएकोमा उपनिर्वाचनमा भने २३ मत घटेको छ । उपनिर्वाचनमा नेकपाका रामशरण थारुले ८०० मत ल्याएका छन् भने काँग्रेसका श्रीकृष्ण थारुले ७३६ मत अर्थात ६४ मत कम ल्याउँदै दोस्रो भएका छन् ।

त्यस्तै नेकपा र काँग्रेसबीच भोट तानातानको अवस्था रहेको र त्यसबाट आफुलाई फाइदा हुने भन्दे जीतको दावी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार श्रीधर सुवेदीले ६१ मत ल्याएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी दिपालक्ष्मी हमालले १३ मत र समाजवादी पार्टीका शोभाखर पोखरेलले १० मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै नेकपाका उम्मेद्वार रामशरण थारुले सबैको जीत भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैको जीत भएको छ । एउटा प्रक्रियामा गइसकेपछि परिणाम आउँदा कोही अघि कोही पछिजस्तो देखिएको छ । समग्र वडाको विकासका लागि सबै दलहरु एकमत भएर अघि बढ्नुपर्छ ।’

काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारु र राप्रपाका उम्मेद्वार श्रीधर सुवेदीले वडाको विकास र समृद्धिमा रचनात्मक सहयोग हुने र निर्वाचन वडाध्यक्षले पनि सोही अनुसार आफ्नो भूमिकालाई फराकिलो र रचनात्मक बनाउन आग्रह गरे । ‘राम्रो काममा हाम्रो पूर्ण साथ रहन्छ । अन्यथा हामी आलोचनात्मक रुपमा अघि बढ्छौं,’ उनीहरुले भने ।

यस वडामा कुल दुई हजार २६ मतदाता रहेकोमा एक हजार ६३४ मत अर्थात् ८०.६५ प्रतिशत मात्रै खसेको थियो । जसमा ७५१ जना पुरुष र ८८३ महिलाले मतदान गरेका थिए । खसेको मतमध्ये कुल १४ मत बदर भएको थियो । १५ वडा रहेको कोहलपुरमा प्रमुखसहित नेकपाका ९ र उपप्रमुखसहित काँग्रेसका ६ वडाध्यक्ष छन् ।