Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 9:53 pm

कुरिती र कुसंस्कारको खुलेरै विरोध, महिला हिंसाविरुद्ध महिलाहरु एकजुट

केही बर्षअघि पाँच दिनसम्म छाउगोठमा बस्ने गरेका यहाँका महिलाहरु पछिल्लो समय घरभित्रै बस्ने गरेका छन् ।

बझाङ । परम्परादेखि चल्दै आएका कुरिती र कुसंस्कारविरुद्धको बझाङका महिलाहरुले खुलेरै विरोध गर्न थालेका छन् । केहीबर्ष अघिसम्म महिनावारी हुँदा घरको आँगनसमेत छुन नपाउने यहाँका महिलाहरु अहिले घरभित्रै बस्ने गरेका छन् । महिनावारी हुँदा गाउँभन्दा करिब ६०० मिटर टाढा बनाइएका साँघुरो गोठमा बस्दै आएका उनीहरू छाउ भएको समयमा घरभित्रै बस्न थालेपछि निकै खुसी छन् ।

अन्धविश्वासका कारण केही बर्षअघि पाँच दिनसम्म छाउगोठमा बस्ने गरेका यहाँका महिलाहरु पछिल्लो समय घरभित्रै बस्ने गरेका छन् । बेडाल–१ की चादनी बम महिनावारी भएका बेला घरभित्रै बस्ने पहिलो महिला हुन् । अहिले उक्त संख्या बढेर झण्डै एक सय पुगेको छ । यहाँका महिलाहरुलाई कुरितीविरुद्ध खुलेर विरोध गर्ने प्रेरणा युएमएनको आर्थिक सहयोगमा तथा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सञ्चालित ब्यवहार परिवर्तन परियोजनाले दिएको स्थानीय नामसरा बमले बताइन् ।

स्थानीय प्यारीदेबी बमले पहिला महिनावारी हुँदा घरको आँगनभन्दा टाढा बस्नुपर्ने, पानीका धारासम्म छुन नदिने लगायतका धेरै समस्या झेलेको भए पनि अहिले आफ्नी बुहारी र छोरीलाई घरभित्रै बसाल्ने गरेको बताइन् । बमले जीवनका ३५ वर्षसम्म हरेक महिनाको ७ दिन छाउगोठमै बसेर दिन बिताएको तितो अनुभव सुनाइन् । ‘गाईभैसीको दुध छुन खान नहुने परम्परा पनि उस्तै थियो,’ उनले भनिन्, ‘अहिले यहाँका महिलाहरु महिनावारी भएका बेला दही, मही, घिउ जस्ता सबै कुरा खाने गरेको उनको भनाई छ ।

गाँउका जनचेतना कमीका कारण कुरिती र कुसंस्कारविरुद्ध बोल्न नसक्ने यहाँका महिलाहरु अहिले खुलेरै विरोध समेत गर्न थालेका छन् । झण्डै पाँच बर्षसम्म ब्यवहार परिवर्तन परियोजना लागु भएपछि अहिले यहाँ निकै परिवर्तन आएको तल्कोट गाउँपालिका–१ का वडाध्यक्ष गोपाल धामीले बताए । यस वडामा बाहेक अन्य वडाका महिलाहरु अहिले पनि परिचय दिन डराउने अवस्था कायमै रहेका बेला सुनिकोटमा निकै परिवर्तन देखिएको उनले बताए । जनचेतनामा अझै जोड दिनसके समुदायमा सुधार हुने उनको भनाई छ ।

युएमएनका ब्यवहार परिवर्तन परियोजना ब्यवस्थापक माधुरी विकले कुरिती र कुसंस्कारविरुद्ध खुलेर विरोध गर्ने महिलाहरुलाई सम्मान गर्दै जाँदा यसले महिलाहरुमा थप हौसला र प्रेरणा मिलेको बताइन् । महिला महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेनका सिंहले परियोजना सकिए पनि यहाँका महिलाहरुले कुरिती कुसंस्कारविरुद्ध सधैं आवाज उठाउने र त्यसका लागि संस्थाले सक्दो सहयोग गर्दै जाने बताइन् ।

२०६८ सालको जनगणना अनुसार बझाङको कुल जनसंख्या एक लाख ९५ हजार १५९ रहेको छ । जसअनुसार महिलाको जनसंख्या एक लाख दुई हजार ३६५ रहेकोमा २५ हजार ४६७ किशोरीहरु रहेका छन् । अहिले बझाङमा महिला तथा बालबालिका कार्यालयको तथ्याङ्क अनुसार झण्डै ६० प्रतिशतभन्दा बढीले यो प्रथा पूर्णरुपमा मान्दै आएका छन् । तर कतिपय भने यो तथ्याङ्कको समेत आलोचना गर्न थालेका छन् । योभन्दा बढीले छाउपडी प्रथा मान्ने उनीहरुको भनाई छ ।

महिला हिंसाविरुद्ध एकजुट

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन भइरहदा तल्कोट गाँउपालिका–१, सुनिकोटका महिलाहरु आफुमाथि हुने हिंसा सहेर नबस्ने भन्दै एकजुट भएका छन् । केही बर्षअघि वल्लोपल्लो घरमा श्रीमान् श्रीमतीबीच बिवाद तथा कुटपिट हुँदा छिमेकी महिलाहरु घरको झगडामा बोल्न नहुने भन्दै बेवास्ता गर्थे । स्थानीयबासी सुन्दरी कुवरले भनिन्, ‘अहिले कुनै महिलामाथि अन्याय हुँदा छिमेकी महिलाहरु नै एकजुट भएर त्यस्ता कुराको सामाना गर्दै आएको र आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिन्छौं ।’

महिलाहरु सबै एकजुट हुँदा महिलामाथि हुने सबै प्रकारका हिंसाको सामना गर्न सकिने उनको भनाई छ । ‘गाँउकै एक जना महिलामाथि केही समयअघि उनका श्रीमानले कुटपिट गर्न लाग्नु भएको थियो । सबै महिलाहरु जम्मा भएर महिलालाई कुटपिटसमेत गर्न दिएनौं । सबै मिलेर उनका श्रीमानलाई सम्झाईबुझाई गरेर मिलापत्र गराएका थियौं,’ उनले भनिन् । सबै महिलाहरु एकजुट हुँदा धेरे कुरामा सहज हुने गरेको उनको भनाई छ । गाँउमा नै महिलाहरु मिलेर समुह बनाइरहँदा जस्तासुकै कुराहरुको पनि सामना गर्न सकिने उनको अनुभव छ ।