Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 11:03 pm

नरैनापुरको शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुको प्रतिबद्धता

बाँके । नरैनापुरको शैक्षिक अवस्थामा सुधार ल्याउन त्यहाँका प्रधानाध्यापकहरु प्रतिबद्धता जनाएका छन् । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिबारे अभिमुखीकरण कार्यक्रमको समापनमा प्रधानाध्यापकहरुले आगामी दिनमा संख्यात्मक नभई गुणात्मक रुपमा सुधार ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले अब लापरवाही गर्ने शिक्षक र प्रधानाध्यापकलाई कसैले जोगाउन नसक्ने बताए । श्रीवास्तवले भने, ‘हिजोको जस्तो अवस्था अहिले छैन, जतिखेर जुन स्कुलमा पनि निरिक्षण आउन सक्छ, त्यही भएर शिक्षक सुध्रिनुको बिकल्प छैन ।’

शिक्षा विकास समन्वय ईकाई प्रमुख रामसुरेश यादवले प्रधानाध्यापकले चाहेको खण्डमा विद्यालयमा जतिबेला पनि सुधार ल्याउन सकिन बताए । प्रधानाध्यापकले आफै लापरवाही गरे त्यही कुराको अनुसरण शिक्षक र अन्य कर्मचारीले गर्ने गरेको देखिएकोले प्रधानाध्यापकमा सुधार आए विद्यालयको अवस्थामा स्वतः सुधार ल्याउन सकिनेमा दुई मत नभएको उनको भनाई रहेको थियो ।

शिक्षा शाखा नरैनापुरले केही समयदेखि शिक्षामा सुधार ल्याउन पालिकामा रहेका विद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनले प्रधानाध्यापकलाई शिक्षामा सुधार ल्याउन हामी प्रतिबद्ध छौं भनेर सामुहिकरुपमा प्रतिवद्धता समेत गराएका छन् ।

शिक्षा शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले शैक्षिक सुधारको लागि नयाँ योजना, शैक्षिक क्रियाकलाप तथा विद्यार्थीलाई विद्यालयतर्फ अग्रसर गराउन लागिपरेको बताए । उनका अनुसार विद्यालय क्षेत्रमा देखिएका समस्या समाधान गर्न पालिकास्तरमै विद्यालयहरुको अनुगमन बढाइएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक, शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिसँग नियमित बैठकलाई निरन्तरता दिँदै क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा जोड दिएको छ ।

समय–समयमा गाउँपालिका र शिक्षा शाखाले गर्ने गरेका अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरु अनुपस्थित हुने, विद्यालय समयमा नपुग्ने, पुगे पनि बिदा हुनुभन्दा पहिले निस्किने, अध्ययन अध्यापनमा लापर्वाही हुने गरेको, विद्यालय विद्यार्थीको संख्या घट्दै गएको लगायतका समस्या देखिएपछि शिक्षकहरुलाई नियमित उपस्थित र प्रभावकारी शिक्षणका लागि क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।