Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 7:33 pm
नेपालगन्जमा ‘नो हर्न’ घोषणाको एक वर्ष

‘उपलब्धी शून्य, समस्या जस्ताको तस्तै’

नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार ‘हर्न’ बजाउन निषेध गरिए पनि आज एक वर्ष पुग्दासम्म नगर ध्वनी प्रदूषणमुक्त हुन सकेन ।
फाइल तस्वीर

बाँके । ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्दै नेपालगन्जलाई गरिएको ‘हर्न निषेध’ घोषणामै सीमित भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गतवर्ष ठूलै तामझामका साथ नेपालगन्ज नगर क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको एक वर्ष वितिसक्दा पनि उस्तै सवारी साधनको हर्नले कोलाहालमय छ ।

ट्राफिक प्रहरीकै बेवास्ताका कारण उपमहानगरपालिकाभित्र गरिएको ‘हर्न निषेध’ कार्यान्वयनमा आएन । फलस्वरुप उपमहानगरपालिकाभित्र ध्वनी प्रदुषणको अवस्था जस्ताको तस्तै छ । नेपालगन्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीको बेवास्ताका कारण सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन् ।

नगरभित्र साना–ठूला सवारीसाधनको मनपरि बढ्दै जाँदा जिल्ला ट्राफिक कार्यालय निरिह बन्दै तमासा हेरेर बसेको छ । मनलाग्दी गर्ने सवारी चालकलाई कारबाही गर्नुको साटो ट्राफिक प्रहरी स्वयमका सवारी साधनले हर्न बजाउँदै सडकमा घुइकिन्छन् । बढ्दो सवारी साधनको चापले अत्याधिक ध्वनि प्रदूषण भएपछि गत बर्ष मङ्सिर १ गते नेपालगन्ज नगर क्षेत्रमा हर्न निषेधित गरिएको थियो ।

नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार ‘हर्न’ बजाउन निषेध गरिए पनि आज एक वर्ष पुग्दासम्म नगर ध्वनी प्रदूषण मुक्त हुन सकेन । नेपालगन्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न गत वर्ष तामझामपूर्ण कार्यक्रम नभएका भने होइनन् । नेपालगन्ज प्रवेश गर्ने सवै नाकाहरुमा होर्डिङ बोर्ड राखियो, यातायात समिति, व्यवसायी लगायत सरकारी निकायसँग छलफल गरियो ।

नगरलाई हर्न निषेधित क्षेत्र बनाउन शुरुको एक महिनासम्म सबै सवारी साधनका चालकहरुलाई सम्झाउने र त्यसपछि अटेर गरे सवारी ऐन अनुसार कारबाही गरिने भन्दै ट्राफिक प्रहरीले तदारुकता देखाएको थियो । ट्राफिक प्रहरी प्रमुख बदलिएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र नो हर्न कार्यान्वयनमा आउन सकेको छैन । तर, समस्या जस्ताको तस्तै रह्यो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वतयारी विना ‘नो हर्न’ निषेध गरेर कार्यान्वयनमा ल्याउन नसकेको आम नागरिकको प्रतिक्रिया छ । पूर्वतयारी नगरी एक्कासी ‘हर्न निषेध’ घोषणा गर्दा त्यसले सार्थकता पाउन नसकेको कतिपयको बुझाइ छ । हर्न निषेध गर्न सबै सरोकारवाला पक्षबाटै असहयोग भएको ट्राफिक प्रहरीको तर्क छ ।

उपमहानगरपालिकाभित्र जीर्ण सडक, सडक पेटी, बत्ती, र जेब्रा क्रसिङ जस्ता आधारभूत कुराहरु समेत नभएकोले हर्न निषेध कार्यान्वयनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पविन्द्र बमले बताए । उनले भने, ‘उपमहानगरभित्र हर्न निषेध कार्यान्वयन गर्न चासो नलिएको होइन, विविध कारणले गर्दा गर्न नसकिएको हो ।’

नो हर्न कार्यान्वयनमा केही समस्या देखिएको भन्दै ट्राफिक प्रहरी निरीक्षक बमले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोग चाहिने बताए । नगरबासी सचेत नहुँदा हर्न निषेध कार्यान्वयनमा समस्या भएको भन्दै कारबाहीमात्र नभइ चर्को हर्नले पार्ने हानीका बारेमा सचेत बनाउन अभियान सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको उनको भनाई छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार एक वर्षको अवधिमा ३३७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । सो कारबाहीबाट २ लाख ८५ हजार जरिवाना असुली भएको छ । ध्वनि प्रदूषण ७० डेसिबलभन्दा कम र कलकारखाना रहेको क्षेत्रमा मात्रै ८० डेसिबल ध्वनि हुनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार हर्न बजाउनेलाई प्रहरीले रु.पाँच सयदेखि रु.एक हजार पाँच सयसम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।