Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 11:28 pm

पर्यटकको पर्खाइमा सुदूरपश्चिमका मनमोहक पर्यटकीय गन्तव्य

स्रोतसाधन एवं विकासका प्रचूर सम्भावना हुँदाहुँदै पनि अझै प्रदेशमा गरीबी र बेरोजगारीको दर उच्च छ । राजधानीबाट निकै टाढा रहेको र विकासका दृष्टिकोणले सीमान्तकृत भान हुने यो प्रदेशमा पर्यटकीय महत्वका थुप्रै अनुपम गन्तव्य छन् ।

नेपालको वर्तमान संविधानले मुलुकमा संघात्मक शासन प्रणालीलाई सुनिश्चित गरेको छ । जुन वर्षाैंदेखि एकात्मक प्रणाली अवलम्बन गरेको मुलुकको लागि नयाँ अभ्यास पनि हो । नेपालको ७ नम्बर प्रदेशको नामाकरण ‘सुदूरपश्चिम प्रदेश’ गरिएको छ । यो प्रदेश अन्तर्गत साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सेती र महाकाली अञ्चलका ९ वटै जिल्ला पर्छन् ।

शासकीय दृष्टिकोणले संघात्मक प्रणालीमा प्रवेश गरेतापनि भौगोलिक एवं धरातलीय स्वरुपका दृष्टिले यो प्रदेश पुरानै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको हुबहु संरचनामा फैलिएको छ । आजभन्दा २५ वर्षअघि बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि सन् १९९४ मा जापान सरकारको सहयोगमा अत्याधुनिक प्रविधिको पुल निर्माणपश्चात सुदूरपश्चिमको द्रूत विकासको अपेक्षा गरिएपनि आशातीत रुपमा आर्थिक समृद्धिका हिसाबले ‘सुदूर’को छाप हटाउन सकेन ।

स्रोतसाधन एवं विकासका प्रचूर सम्भावना हुँदाहुँदै पनि अझै प्रदेशमा गरीबी र बेरोजगारीको दर उच्च छ । राजधानीबाट निकै टाढा रहेको र विकासका दृष्टिकोणले सीमान्तकृत भान हुने यो प्रदेशमा पर्यटकीय महत्वका थुप्रै अनुपम गन्तव्य छन् । जसले जोसुकै पर्यटकलाई सहजै लोभ्याउन सक्ने सामर्थ्य राख्छन् । यो प्रदेशको सर्वाङ्गीण विकासका लागि पर्यटन एक प्रमुख क्षेत्रका रुपमा सावित हुन सक्छ । यहाँ सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख ५ पर्यटकीय गन्तव्यको चर्चा गरिएको छ ।

१) खप्तड

सुदूरपश्चिमका ४ पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज समुन्द्री सतहदेखि करीब ३ हजार मिटर उचाइमा अवस्थित प्राकृतिक छटा र सुन्दर भू–दृश्यले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य हो । सन् १८८० मा भारतको काश्मिरमा जन्मिएका स्वामी सच्चिदानन्द, जो पछि ईलाम, कालिञ्चोक, स्वर्गद्वारी, चन्दननाथ हुँदै सन् १९४० ताका खप्तड आइपुगे र अन्ततः यो ठाउँलाई अरु ठाउँको तुलनामा ध्यान र पूजाका लागि अत्यन्तै उपयुक्त महसूस गरी सदाका लागि यहीँ स्थानमा बस्ने निधो गरे । पछि उहाँ ‘खप्तड बाबा’का नामले प्रख्यात हुनुभयो ।

५० वर्षसम्म यो सुन्दर एवं पावन भूमिमा ‘खप्तड आश्रम’ स्थापना गरी आध्यात्मिक साधनमा समर्पित हुनुभयो । सन् १९८४ मा उहाँकै आग्रहमा सरकारले खप्तड राष्ट्रिय निकुञ्ज त स्थापना र्गयो तर पर्याप्त पूर्वाधार एवं प्रचारप्रसारको अभावमा बिछट्ट सुन्दर खप्तड अहिले पनि ओझेलमा परेको प्रतित हुन्छ । दुर्लभ वन्यजन्तु एवं औषधिजन्य बहुमुल्य वनस्पतिको समेत प्रचूर प्राप्यता भएको निकुञ्जको सुन्दरतामा मोहित नहुने शायदै कमै प्रकृतिप्रेमी होलान् । खप्तड आश्रमका अलावा वनपुष्पले सुगन्धित घाँसेमैदान, मनोरम भिराला भूदृश्य, खप्तड दह, खप्तड त्रिवेणी, गंगा दसेरा पर्व निकुञ्जका प्रमुख आकर्षण हुन् ।

२) बडीमालिका

समुन्द्री सतहदेखि करीब ४ हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिका सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको निकै सुन्दर धार्मिक पर्यटकीय गन्तव्यस्थल हो । विशेषतः भगवतीको आराधना गरिने मन्दिरमा हरेक वर्ष श्रावण शुक्ल चतुर्दशीमा विशेष मेला लाग्ने गर्छ । प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञमा हाम फालेकी सतिदेवीको शव बोकेर महादेव डुल्दा यो ठाउँमा सतिदेवीको काँध खसेको, पछि मल्लगिरी पहाडको निर्माण भएको र कालान्तरमा यो स्थानको नाम ‘मालिका’ रहन गएको किम्बदन्ती छ । मनमोहक घाँसेमैदान, निर्मल झरना तथा सुसेली खेल्ने खोला बडीमालिकाका प्रमुख आकर्षण हुन् ।

३) शुक्लाफाँटा

सुदूरपश्चिम तराईको जिल्ला कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सन् २०१७ अघि वन्यजन्तु आरक्षको रुपमा रहेको थियो । ठूल्ठूला घाँसे मैदान सहितको समथर मैदानी फाँट शुक्लाफाँटाको प्रमुख विशेषता हो । सबैभन्दा रोचक तथ्य त के भने बाह्रसिङ्गाको विश्वमै सबैभन्दा ठूलो बथान शुक्लाफाँटामै पाइने गर्छ । दुर्लभ पाटेबाघ, हात्ती, अजिंगर लगायत ४६ प्रजातिका स्तनधारी र ४२३ प्रजातिका चराहरू निकुञ्जमा पाइन्छन् । हात्ती सवारी एवं जंगल सफारी निकुञ्जका प्रमुख मनोरञ्जनात्मक क्रियाकलाप हुन् भने नेपालको सबैभन्दा लामो दोधाराचाँदनी झोलुङ्गे पुल पनि नजिकै छ ।

४) रामारोशन

अछाम जिल्लामा अवस्थित अद्भुत रामारोशन क्षेत्र सुदूरपश्चिमको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि प्रख्यात यो ठाउँमा पुगेपछि जो कोही स्वर्गीय आनन्द महसूस गर्छन् । सुन्दर रामारोशन ताल यो क्षेत्रको प्रमुख पर्यटकीय आकर्षणको केन्द्र हो । तालसम्म नपुगुन्जेल बाटोमा पर्ने सुन्दर गुराँसले पर्यटकको थकाइ मेटाउने अचुक अस्त्रको काम गर्छन् ।

५) अपिनाम्पा

सन् २०१० मा स्थापित अपिनाम्पा संरक्षण क्षेत्र सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा अवस्थित छ । २ हिमचुचुरा ‘अपि’ र ‘नाम्पा’का नामबाट नामाकरण गरिएको संरक्षण क्षेत्रमा दुर्लभ प्रकृतिका हिमाली वनस्पति एवं जनावर पाइन्छन् । सुन्दर–शान्त हिमाली परिवेश एवं हिमचुचुरालाई नजिकबाट नियाल्न चाहनेका लागि निश्चय नै अपिनाम्पा उत्तम गन्तव्य सावित हुनसक्छ । (लेखक विकास बोहरा अध्ययनका सिलसिलामा हाल जापानको हिरोसिमा विश्वविद्यालयमा छन् ।)