सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा

राप्ती नदीमा पुल नहुँदा बाँकेको होलिया र गङ्गापुरका बासिन्दाले लामो समयदेखि डुङ्गामा जोखिमपूर्ण रूपले नदी वारपार गर्नुपर्ने बाध्यता छ । जिल्लाको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि खल्ला झगडिया गाउँछेउको राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका गाउँका धेरै बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्न बाध्य छन् ।

डुडुवा गाउँपालिका–१, होलियाका कुडुवा, कृषि चौफेरी, बर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा, खडैँचा, कन्दइपुर्वा, सन्तलिया, नयाँ बस्तीका बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको छ । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६, गङ्गापुरका स्थानीय त्रिभुवन यादवले बताउए ।

उनका अनुसार राप्तीसोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवा लगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् । खल्ला झगडिया गाउँ नजिकैबाट डुङ्गाले सर्वसाधारणलाई वारपार गराउँदै आएको छ । नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्ने हुँदा डुङ्गा चढ्नुको विकल्प नरहेको बताउँदै यादवले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गरे ।

यसैगरी राप्तीसोनारी–७, खल्ला झगडिया नयाँ बस्तीका स्थानीय शङ्कर यादवले भने, ‘हिउँद या बर्खा जहिले पनि डुङ्गाबाट नै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।’ सो क्षेत्रका बासिन्दाले डुङ्गामा नदी तरेको प्रतिव्यक्ति १० रुपैयाँ तिर्नुपर्छ । गाईभैँसीलाई बोकेबापत २० रुपियाँ, साइकलको १५ रुपैयाँ र मोटरसाइकलको ६० रुपैयाँ लिने गरेको डुङ्गाचालक नानबाबु पासीले बताए ।

डुङ्गामा एकै पटक ५० देखि ६० जना मान्छे र मालसमानसहित नदी वारपार गराउने गरेको चालक पासीको भनाइ छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका बासिन्दा किनमेलका लागि पुग्ने गर्छन् । हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिकाका होलिया, बेतहनी र राप्तीपारि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गापुर र मटेहियाका बासिन्दा डुङ्गा तरेर जाने गर्छन् ।

भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्य वस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका छन् । राप्तीतटीय क्षेत्रका बासिन्दा राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार गर्नुपर्ने समस्या अन्त्य गर्न मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको त्यस क्षेत्रका सांसदहरु बताउँछन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतवार ०९:४१

लोकप्रिय