सूचनाको शक्ति - The Power Of Information

        

राप्तीको सिधनियाघाटमा शवदाह गृह निर्माण हुँदै

डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाह गृह निर्माणस्थलमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलसहितको टोली ।

डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाह गृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगन्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शव दाहगृह निर्माण हुन लागेको हो ।

यसका लागि समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिद गर्न लागेकोे समितिका संयोजक डा सुरेश कनौडियाले बताए । उनका अनुसार थप १९ कठ्ठा जग्गा खरिद गर्ने समितिको योजना छ । वैकुण्ठधाममा ब्रह्मनाल, किरियापुत्री घर, मन्दिर, उद्यान, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना रहेको छ ।

डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाह गृह निर्माणका लागि छलफल गरिँदै ।

एक वर्षअघि सामान्य बहसमा आएको विषय अहिले योजनागत रूपमा अघि बढेको हो । बाँकेको नेपालगन्ज, डुडुवा, राप्तीसोनारी, जानकी लगायत पालिकाका बासिन्दाले दाह संस्कारका लागि सिधनियाघाट प्रयोग गर्दै आएका छन् । यसका लागि पूर्वाधार अभावले नागरिकले सास्ती भोग्दै आएकाले वैकुण्ठधामको योजना अगाडि सारिएको व्यवस्थापन समिति सदस्य एवं पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताए ।

शवदाहगृह निर्माणार्थ आध्यात्मिक महोत्सवको आयोजना गर्ने र बाँकेका उद्योगी, व्यवसायी समाजसेवी लगायतसँग आर्थिक सहयोगका लागि अनुरोध गरिने उनको भनाइ छ । वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा आगामी कात्तिक २२ देखि ३० गतेसम्म आध्यात्मिक महोत्सव सञ्चालनको तयारी गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ०८:१०

लोकप्रिय