कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन् । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो ।
यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन् । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए ।
‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु,’ उनले भने । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए । खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनी बताउँछन् ।
सान लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ ।
‘घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रम अन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु,’ उनले भने, ‘पछिल्लो समय त छोराले ज्याला मजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।’
विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । ‘कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु,’ उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ ।’
बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । ‘हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बट्टा भनेर थपेरै दिन्छन् ।’ रानाले चक्कु, हसिया, चुलेसी लगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगाएवापत रु ५० र तरबारको रु १०० रुपैयाँ ज्याला लिने गरेका छन् ।
पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए । ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नुपरेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु,’ रानाले खुसी हुँदै भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर