सूचनाको शक्ति - The Power Of Information

        

एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र काठमाडौं भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा अनिल साह नेतृत्वको अपराजित जनकपुर बोल्ट्स र दिपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच हुने छ । दुई टीमबीचको खेल बिहान ९ बजेबाट शुरू हुनेछ ।

यस्तै, दोस्रो खेलमा रोहित पौडेल नेतृत्वको लुम्बिनी र करण केसी नेतृत्वको काठमाडौं गुर्खाज आमनेसामने हुनेछन् । यी दुई टीमबीचको खेल दिउँसो सवा १ बजे शुरू हुनेछ । प्रतियोगिताको एकमात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जीत निकालेको छ ।

आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जीतसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जीत निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जीत निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जीत निकालेको थियो ।

चारमध्ये तीन खेलमा जीत निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जीतसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जीत निकालेको थियो ।

दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जीत, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जीत दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ०६:४५

लोकप्रिय