सूचनाको शक्ति - The Power Of Information

        

एनपिएलमा पोखरालाई हराउँदै कर्णाली याक्स विजयी

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज मंगलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध ७ विकेटको जित हासिल गरेको छ । १०४ रनको सामान्य लक्ष्य पाएको कर्णाली याक्सले १५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

बलिङमा विलियम बोसिस्टो र ब्याटिङमा गुल्सन झा चम्किएपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो । प्रतियोगितामा पाँचौ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो ।

कर्णाली प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । पाँच खेलमा तीन खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णालीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ । कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे । एक रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन् । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए । देवलाई विपिन खत्रीले एलबिडब्लूको धरापमा पारे । बाबरलाई सागर ढकालले बोल्ड गरे । चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे । यसअघि पोखरा १६।३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको थियो ।

कर्णाली याक्सका विलियम बोसिस्टोको घातक बलिङसामु पोखरा एभेन्जर्स निरीह बन्न पुगेको थियो । उनी जारी लिगमा एकै खेलमा सबैभन्दा बढी विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै, विपिन, युनिस र कप्तान सोमपाल कामीले १–१ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराको सुरुवात निकै राम्रो थियो । ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले ३।५ ओभरमा ४६ रन जोडेका थिए । गाउस १२ बलमा २५ रन जोड्दै आउट हुँदा खरेल पनि १९ बलमा २६ रन जोडेर पभेलियन फर्किएका थिए । त्यसपछि भने पोखराको खेल बिग्रियो । रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ बलमा रन जोडे । मध्यक्रमका अन्य ब्याटर चल्न सकेनन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १६:१२

लोकप्रिय