सूचनाको शक्ति - The Power Of Information

        

मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति

मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गर्दै अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो ।

जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार अभियोगपत्र पेस भएको छ । जिल्ला सरकारी कार्यालयले एमाले सांसद अधिकारी निर्दाेष रहेको जनाउँदै उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए ।

सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको थियो । टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए ।

पक्राउ पर्ने बिचौलियाहरूमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल छन् । दावा शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङ्गको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए ।

त्यही चिनजानका कारण जापान जान दावाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार डिपोजिट गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । देवकोटाले जापान जान १० लाख बुझाएको भेटिएको छ । कार्तिक १४ मा डिपोर्ट भएर फर्केपछि उनीहरु काठमाडौँ विमानस्थलमा पक्राउ परेका थिए ।

जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाएको भेटिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १७:२४

लोकप्रिय