सूचनाको शक्ति - The Power Of Information

        

गहुँ छर्ने सिजनमै बाँकेमा डीएपी मलको अभाव

बाँकेमा डीएपी मलको अभाव भएको छ । गहुँ छर्ने सिजन सुरु हुन भएसँगै डीएपीको माग उच्च भए पनि माग अनुसार मल उपलब्ध हुन सकेको छैन । बाली लगाउने बेला मल नपाएपछि किसानहरू तनावमा छन् ।

यहाँका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जले डीएपी मल दिँदै आएको छ । तर कार्यालयमा यसवर्ष डीएपी मलको अभाव रहेको जनाएको छ । शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले गहुँको सिजन सुरु हुन लागेका कारण डीएपी मलको माग उच्च भएपनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको बताए ।

‘गहुँ छर्ने सिजन सुरु हुन लागेको छ, माग ह्वात्तै बढ्दो छ । यहाँमात्रै होइन, देशैभरि डीएपीको माग बढी नै छ, तर मौज्दात न्यून हुँदा माग अनुसार परिपूर्ति गर्न सकिएको छैन,’ शाखा प्रबन्धक श्रेष्ठले भने, ‘यति कम मात्रामा रहेको मलले सबैको माग पूरा गर्न सम्भव छैन । हाम्रोमा त अलिअलि भएका कारण त्यसैलाई वितरण गरिरहेका छौँ ।’

बाँकेमा करिब पाँच हजार मेट्रिक टनभन्दा बढी डीएपी मल आवश्यक हुन्छ । यस आर्थिक वर्षमा लक्ष्य र माग २५ सय मेट्रिक टनको भएपनि जम्मा ६८५ मेट्रिक टन मल मात्र मौज्दात छ । ‘नेपालमा मल ल्याउने जिम्मा पाएको आइपीएलले डीएपी नल्याउँदा जताततै समस्या देखिएको छ । कुनै प्राविधिक कारणले डीएपी नेपालमा आउन नसकेको हुन सक्छ, हामीले ल्याउने ठाउँमै डीएपी छैन, मंसिरको अन्तिमसम्म आइपुग्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।

बाँकेमा रहेका आठ स्थानीय तहमा सूचीकृत सहकारी संस्थाहरुले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजाने र किसानहरुलाई बिक्री वितरण गर्दै आएका छन् । जिल्लाको नेपालगन्जमा २६ वटा, कोहलपुरमा चार वटा, नरैनापुरमा तीन वटा, राप्तीसोनारीमा १५ वटा, डुडुवामा २५ वटा, बैजनाथमा १२ वटा, खजुरामा २३ वटा र जानकीमा १७ वटा गरी कुल १२५ वटा सहकारीले मल बिक्री वितरण गर्ने गरेका छन् ।

कम्पनीको नेपालगन्ज कार्यालयमा डीएपी मलको मौज्दात अत्यन्तै न्यून रहे पनि युरिया र पोटासको भने मौज्दात रहेका कारण माग अनुसार परिपूर्ति गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसवर्ष ६ हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डीएपी र ३०० मेट्रिक टन पोटासको लक्ष्य र माग गरिए पनि युरिया ४०२०.५०० मेट्रिक टन, डीएपी ६८५ मेट्रिक टन र पोटास ७५ मेट्रिक टन प्राप्त भएको छ ।

हालसम्म युरिया २९४९.९०० मेट्रिक टन, डीएपी ९८५.८५० मेट्रिक टन र पोटास ६६.२०० मेट्रिक टन बिक्री वितरण भइसकेको छ । गत वर्षबाट अल्या गरी युरिया ३५७.९०० मेट्रिक टन, डीएपी ४२४.४५० मेट्रिक टन र पोटास ३.२०० मेट्रिक टन ल्याइएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १९:५८

लोकप्रिय