खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ । गत कात्तिक २० गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १२ हजार ५०० क्वीन्टल मध्यम र एक हजार ५०० क्वीन्टल मोटो धान गरेर १४ हजार क्वीन्टल धान खरिद गरिसकेको कम्पनीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेका अनुसार गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार क्वीन्टल मोटा धान र १० हजार क्वीन्टल मध्यम गरी ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
धान बिक्रिका लागि ठुलो संख्यामा जिल्लाका किसानले यस वर्ष कार्यालयमा नाम दर्ता गराएकोले निर्धारित कोटा पुरा हुने जनाउँदै उनले त्योभन्दा पनि बढी धान विक्रिका लागि आएमा कोटा समेत थप गर्न सकिने बताए । कम्पनीको गोदाम नजिक चार वटा काँटा लगाएर किसानले ल्याएका धान विहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म खरिद गर्ने कार्य भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
प्रमुख लामिछानेले भने, ‘हालसम्म धान बिक्री गर्नका लागि जिल्लाका ५७२ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसक्नुभएको छ, अहिलेसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका किसानहरू आउनुभएको छ, त्यसपछि जानकी, नेपालगन्ज, बैजनाथ र डुडुवाबाट पनि किसान आउनुभएको छ ।’
विभिन्न पालिकाका वडा कार्यालयहरुको सिफारिसका आधारमा एक किसानसँग करिब ६० क्वीन्टलसम्म धान खरिद गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ । गत वर्ष ५१ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीको नेपालगन्ज कार्यालयले विभिन्न कारणले लक्ष्य भन्दा निकै कम धान खरिद गर्न सकेको थियो ।
तर यस वर्ष भने लक्ष्य पुरा हुने अहिलेनै निश्चित भइसकेको छ । हालसम्म जिल्लाका ३१२ जना किसानले कम्पनीमा पुगेर धान बिक्रि गरेर फर्किसकेका छन् । कम्पनीका अनुसार दैनिक २० देखि ३० जना किसानको करिब ८०० क्विन्टल धान खरिद गर्ने कार्य अहिले भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
गत वर्षभन्दा यस वर्ष सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पुरा हुने निश्चित भएको छ । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा र मोटो धानको समर्थन मूल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा कायम गरेर धान खरिद सुरु गरेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके