सूचनाको शक्ति - The Power Of Information

        

एक किलो नुनलाई ११० रुपैयाँ !

दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नुपर्छ ।

दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत लगायतका सुविधाबाट वञ्चित छन् । दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, ‘मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन । करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नुपरेको छ ।’

भरियामार्फत प्रतिकेजी ६० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘खानेनुन मकरीगाडमा ५० रुपैयाँ प्रतिकेजी पाइन्छ,’ उनले भने, ‘६० रुपैयाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता छ ।’ खच्चड चल्ने बाटो स्थानीय सरकारले मर्मत नगरिदिँदा किनेको मूल्यभन्दा बढी ढुवानी भाडा तिर्नुपरेको अर्का स्थानीय मञ्जु धामीले बताइन् ।

गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, सो विद्यालयमा पक्की भवन छैन । कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी पुग्न पूरै एक दिन लाग्छ । नजिकमा विद्यालय नहुँदा कि त विद्यालय छोड्नुपर्ने, कि त डेरा गरेर गाउँबाहिर विद्यालय पढ्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था नहुँदा उपचार नपाइने तथा सिटामोलका लागि समेत पूरै दिनभरि हिँड्नुपर्ने बाध्यता दैभातवासीमा छ ।

दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भए विद्यालय र स्वास्थ्य संस्था पुग्न एक दिनको बाटो एक डेढ घण्टामा छोटिने भएकाले पुल निर्माण अपरिहार्य रहेको स्थानीय प्रकाश धामीले बताए । दैभातमा अहिलेसम्म विद्युत् नपुग्दा बस्ती अन्धकारमा छ । जिल्लाभरि विद्युतीकरण भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पुर्याउने कुनै सुरसार छैन । विद्युत् पोल ढुवानी गर्न समस्या भएकोले विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारमा समस्या भएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १६:५४

लोकप्रिय