सर्लाहीको हरिपुर्वा नगरपालिका–१ निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्याए । बबिताको पहिलो बच्चा जन्मदै थियो । उनले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराएकी थिइन् ।
स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क थिए । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पुर्याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उनको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन टियरिङ’ भयो ।
त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो (क्याटगड) समेत थिएन । उपचारमा खटिएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमानको हातमा राखिदिइन् तर मध्यरातमा कुनै उपाय थिएन ।
यता बबिता रगत बगाउँदै शय्यामा छटपटाइरहेकी थिइन् । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहेका थिए । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो । बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो ।
परिवारले तत्काल बर्थिङ सेन्टर पुर्याएको केही समयमै सामान्य हिसाबले बच्चा जन्मियो । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो । बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुपर्यो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो ।
सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिनाजस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियोधागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादवले बताए । सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ ।
रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउँछन् । स्वास्थ्य चौकीमा समेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०–१५ प्रकारको औषधि सधैं अभाव हुने गरेको उनको भनाइ छ ।
अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर), पानी तताउने भाँडो काम नलाग्ने भएको छ ।
यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दाबी गरे । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने उनले बताए । नगर अस्पताल सञ्चालनको तयारी समेत गरिएको उनको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सर्लाही