नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन् । अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन् ।
मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरेको केही दिनमै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए ।
‘सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा प्रत्यारोपण गरिएको थियो । केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो,’ राईले भने, ‘घर गएको केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उहाँ पुनः अस्पतालमा भर्ना हुनुभयो । कार्तिक २१ गते अस्पतालले इन्फेक्सन भएको भन्दै मिर्गौला निकालिदिएको थियो । मिर्गौला निकालेको भोलिपल्ट नै उहाँको मृत्यु भयो ।’
राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई शव नबुझ्ने अडान लिएका छन् । ‘मृतकको उपचार गर्दा गर्दै उहाँको परिवार आर्थिकरूपमा निकै कमजोर भइसकेको छ । अब अस्पतालले किरिया खर्च पाँच लाख र उहाँका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी शव बुझ्न तयार छौँ,’ उनले भने ।
अस्पतालका सूचना अधिकृत डा.राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे । ‘अस्पतालमा इन्फेक्सन भएको होइन । उहाँको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो । स्वस्थ भइसकेपछि हामीहरूले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ । मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्फेक्सन भएर बिरामीको मृत्यु भएको हो,’ उनले भने ।
डा.रानाका अनुसार इन्फेक्सन शरीरभर फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो । इन्फेक्सन शरीरभरी फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको दाबी उनले गरे । यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ ।
कानूनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवत जावतमा समस्या निम्त्याएको डा.रानाको भनाइ छ । ‘बिरामीको मिर्गौला प्रत्यरोपण गरेको करिब दुई महिनापछि इन्फेक्सन भएको हो । मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ । हामीले उहाँहरूलाई के आधारमा क्षतिपूर्ति दिने ?’ उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानुस हामीले सहयोग गछौँ भन्दा पनि मान्नुहुँदैन ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं