बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालगन्जको राँझास्थित श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धन गर्नका लागि ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।
श्री नम्बर ४ बाहिनी अड्डाले पत्रकार भेटघाटमार्फत ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको हो । श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
‘बाँके राष्ट्रिय निकुञ्ज हाम्रै जिल्लाभित्र छ, कता–कता ओझेलमा परेकोजस्तो अनुभव हुने गरेको छ, यही निकुञ्ज भएर हजारौँ पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, निकुञ्जसँग जोडिएकै कोहलपुरमा सुविधा सम्पन्न होटलहरु छन्, नेपालगन्जमा छन्, निकुञ्जको नजिक राँझामा विमानस्थलसमेत अवस्थित छ,’ प्रमुख सेनानी गुरुङले भने ।
प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवर्धन गरी संसारभरी पुर्याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जनाएको छ । ‘निकुञ्जको पर्यटनलाई प्रवर्धन गर्न र प्रमोसन गर्न निकुञ्जको भित्री कोर एरियामा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दि बाँके नेशनल पार्क’ हुनेछ,’ गुरुङले भने ।
साइकल यात्रा ढिकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्जभित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेड क्वाटर ओभरी पुगेर समाप्त हुनेछ । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रम आयोजना गरिएको बताए ।
उनले हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारासम्म साइकल यात्रा हुने गरेको भन्दै यस वर्ष बाँकेमै गर्न लागिएको जानकारी दिए । ‘हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवर्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ,’ गणपति प्रमुख सेनानी थापाले भने ।
उनले आफ्नै ठाउँमा रहेको निकुञ्जलाई उजागर गर्नका लागि नेपाली सेनाले भूमिका निभाउनुपर्ने जानकारी दिँदै भने, ‘हामीले यो कार्यक्रम आयोजना गरेका हौँ, यस्तो कार्यक्रमले निरन्तरता पाउनुपर्छ । बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका करिब १०० साइक्लिष्टको सहभागिता हुनेछ, ५० जना जति बाँके साइकल संघमार्फत् र नेपाली सेना लगायतबाट सहभागिता रहने छ,’ थापाले भने । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताए ।
उनले ‘टुर दि बाँके नेशनल पार्क’मा साइकल संघमार्फत् ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताए । साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउन ‘टुर दि बाँके नेशनल पार्क’ महत्त्वपूर्ण हुने बताए । ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, तालतलैया, जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवर्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको ४ बाहिनी अड्डाले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके