सूचनाको शक्ति - The Power Of Information

        

करिब सात गुणाले बढ्यो कफी आयात

स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर सम्भावना भएको कफी आयात बढ्दो क्रममा रहेको छ । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँ बराबरको कफी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०–०८१ मा ४४३ मेट्रिक टन कफी आयात भएको छ । आर्थिक वर्ष २०७१–०७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ । नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितले नभ्याएपछि विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरुको भनाइ छ ।

पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ । नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन । नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिका लगायत बजारमा बिक्री हुन्छ ।

आर्थिक वर्ष २०८०–०८१ मा ४१ करोड ९८ लाख रूपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ । नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ । स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १६:०८

लोकप्रिय