सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक बिदाको ढिलो निर्णयले सास्ती

सरकारको ढिलो बिदा निर्णयले निजामती कर्मचारीदेखि विद्यार्थी, शिक्षकसम्मले सास्ती पाएका छन् । सरकारले आज (सोमबार) पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिएको हो ।

हिजो (आइतबार) नै ढुंगानाको निधन भए पनि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ९ बजेपछि मात्रै बिदा दिने निर्णय गर्यो । सरकारको यही ढिलो निर्णय कारण सरकारी कार्यालयका लागि हिँडेका कर्मचारीहरू बीचबाटोबाट फर्किनुपर्यो भने कोही कार्यालय पुगेपछि फर्किए ।

त्यस्तै, सरकारी तथा निजी विद्यालयका पढ्न पुगिसकेका विद्यार्थीहरू फर्किए । कोही विद्यार्थीहरू बीच बाटोबाटै फर्किए । बिहान क्याम्पसहरूमा पढाइ भयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिवमा आरबी कटवालका अनुसार ढिलो निर्णय भएका कारण निजी विद्यालयमा बिहान ९ बजेसम्म पढाइ भयो ।

‘त्यसपछि बल्ल सरकारले सार्वजनिक बिदा दिएको भन्ने खबर सुनियो र १० बजेपछिको विद्यालयको पठनपाठन चाही बन्द गर्यौँ,’ उनले भने । सरकारको यो ढिलाई निर्णयप्रति अहिले चौतर्फी आलोचना भएको छ । सरकारको उक्त निर्णयप्रति शिक्षाविद् डा मीनबहादुर शाही भन्छन्, ‘आज लाखौं विद्यार्थी बीच बाटोबाटै फर्किए, के दमननाथ प्रतिको सम्मान त्यही हो ? अनुत्पादक काम ।’

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १५:३७

लोकप्रिय