गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो ।
पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटार लगायतका ठाउँमा बसाइँ सरे । पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ ।
पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । ‘पहिरोले गाउँले सबै तितरवितर भएका थिए’, उनले भने, ’अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।’ जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए ।
पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उनको भनाइ छ । अहिलेसम्म पहिराले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिए । ‘पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ,’ पहिरोबाट विस्थापित हुनुभएका स्थानीय शेरबहादुर गुरुङले भने ।
पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उनको भनाइ थियो । पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गोरखा