सूचनाको शक्ति - The Power Of Information

        

यात्रा संस्मरण

अजङ्गका भिराला पहाड र लाङटाङ यात्रा

लाङटाङमा विजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्नुपरेको छ । स्याफ्रुबाट यति नजिक पनि सञ्चार सुविधा र टेलिफोन सेवा छैन ।

हिमालको काखमा अवस्थित लाङटाङ–क्यान्जिङ
बुद्धमन्त्र लेखिएका लुङ्ता फहराइरहे लाङटाङसम्म
जीवनका एकपटक पुग्नैपर्ने गन्तव्य हो लाङटाङ ।

केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्किहाल्ने हाम्रो टिमको बानी थियो । विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नैपर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु, तर शहरी क्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा बर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो । त्यसैले लामो विदा या चाडपर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिए ।

तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहको थिए । विवेक भान्जाको फोन आयो, मामा लाङटाङ पदयात्रामा जाने । मैले नजाने केही तयारी छैन भने भान्जाले केही तयारी चाहिँदैन जुत्ता लुगा भए भइहाल्छ भने मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने । राती अबेर भइसकेको थियो ।

गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु २३०० मा जुत्ता किनेर इसेवा मार्फत रसुवाको स्याफ्रुबेसीसम्मको बस टिकट काटर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन् घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ? विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३१५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ ।

विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृग लगायत वन्यजन्तु पाइन्छन् । त्यसकारण पनि ती सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्ति भएको थियो । हुनत पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी चार जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यो ।

यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं । पानी परिरहेकोले प्लास्टीकको छाता ओडेर स्याफ्रुबेशीमा डुनट र चिया खाएर हिड्यौं, बाटोमा लाङटाङ खोला जलविद्युत आयोजनाले २० मेगावाटको विद्युतको लागि बाटो बनाएको रहेछ, मोटरबाटो भए पनि मोटर चाहिँ नचल्ने आयोजनाका गाडीहरु मात्र चल्ने रहेछन् ।

बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं । लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं । बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ ।

हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन । हामी टिवेटन र बितायौं, यही होटलमा खाना र बाँस बस्यौ प्रतिब्यत्ति १५०० तिर्यौं । विजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्नुपरेको छ । स्याफ्रुबाट यति नजिक पनि सञ्चार सुविधा र टेलिफोन सेवा छैन ।

टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ ।

ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै ३ घण्टाको हिडाईपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं । यहाँ १०–१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाडि बढ्यौं, रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौं ।

अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तवेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौं । झोलामा दिदीले हालिदिएको भाईमसला खाँदै हाम्रो यात्रा अगाढि बढ्यौ । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौं । यहाँ २–३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौ । भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्यो ।

लाङटाङ पुग्नुअघि म त बेस्सरी थाकें, हिड्नै गाह्रो हुन थाल्यौ पदयत्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्यसपछि अलि आरामको महसुस भयो । त्यहीबेला ’इनर्जी जुस पनि खाए एक गिलास जुसको ३०० रुपैँयाका पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ, २०७२ सालको भुकम्पको क्षती रहेछ त्यो ।

भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौ । विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ ।

यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौ । खुटा दुखेर हिड्न नसक्ने अवस्था थियो तथापी बिस्तारै यात्रालाई निरन्तरता दिईरहयौ । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दीत भयो ।

ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए । क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहि चढिन् ।

यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौं आइपुग्यौं । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन ।

अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिँडिरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें । मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे । दुःख त भयो, गाह्रो त भयो, तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्नेपर्ने गन्तव्य हो लाङटाङ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १६:५८

लोकप्रिय