सूचनाको शक्ति - The Power Of Information

        

ज्यानमारा सडक

दैनिक सवारी दुर्घटना, रमिते सरकार, उजाडिन्छन् परिवार

यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने हतारो, चालकहरूलाई कमाउनुपर्ने लोभ र अपरिपक्कताले सडक ज्यानमारा साबित भएका छन् ।

हरेक दिन सवारी दुर्घटनाका हृदयविदारक समाचार र तस्वीर सार्वजनिक भइरहेका छन् । गत २३ कात्तिकदेखि ३० गतेसम्म देशभर दर्जनौँ दुर्घटना भएका छन् । जसमा ६७ जना नागरिकले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा मात्रै १३ जनाले ज्यान गुमाएका छन् ।

यसरी हेर्दा यो हप्ता दैनिक सरदर सात जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । यी दुर्घटना शहरदेखि ग्रामीण क्षेत्रसम्म भएका छन् । दैनिक छिटफुट घटनालाई नगन्ने हो भने देशभर करिब दैनिक ५४ वटा दुर्घटना हुने गरेका छन् । आज दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । पाँच जना घाइते छन् ।

शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए । प्रहरीका अनुसार रावलद्वय श्रीमान–श्रीमती हुन् । यस्तै नक्तडका ४५ दिलीप विष्ट र ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका–५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहराको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो । घाइतेमध्ये चालक दार्चुला शैल्यशिखरका ३० वर्षीय सुनिल जोशीको अवस्था गम्भीर छ ।

गोकुलेश्वर अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य छ । एक जना भने उपचार पश्चात् डिस्चार्ज भएका छन् । जीपमा १३ जना सवार थिए । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कार्तिक २५ गते कालीकोटको पलाँता गाउँपालिका–३ राडूनेटामा भएको जिप दुर्घटनाका मृतक छ जनाको सनाखत भएको छ भने सात जना घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट घाइते सात जनालाई सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

अन्य घाइतेलाई अस्पतालमा छिटोभन्दा छिटो ल्याउन हेलिकप्टर फेरि पठाइएको जानकारी उनले दिए । कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले दिएको जानकारीअनुसार जिपमा सवार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् । मृतकहरूमा पलाँता गाउँपालिका–५ का पदम वम, छाया शाही, वडा नं.३ की दमन रोकाय, वडा नं.६ की कुशलकला शाही, भगवती रोकाय र गणेश शाही रहेको पुष्टि भएको छ ।

घाइतेहरूमा कालीकोट पलाँता–६ बस्ने वर्ष नखुलेको केशव थापा सिकिस्त रहेका छन् । घाइतेमध्ये विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया पनि सिकिस्त रहेका छन् । वडा नं.३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका जिपचालक धनिराम रावत र पलाता गाउँपालिका–५ का दोली बिक रआयुशा बिकको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता–३ राडूनेटामा दुर्घटना भएको हो । त्यस्तै, कार्तिक २६ गते बागलुङमा पिकअप जिप दुर्घटना भयो । जसमा पाँच जनाको मृत्यु भयो । घाइते बागलुङ जैमिनी–८ का ४५ वर्षीय गंगाबहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल पुर्याइएको छ । श्रीषको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा दुर्घटना भएको हो । भ्यान सडकदेखि ७०० मिटरभन्दा तल खसेको थियो । कार्तिक २३ गते सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । घाइते २५ जनाको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै २०० मिटर तल खसेको छ ।

‘सवारी चलाउन सिक्ने माध्यम बने ग्रामीण सडक’

सवारी साधनको चेकजाँचमा कमजोरी, अपरिपक्व चालक, निगरानी तथा अनुगमनको कमीले यात्रुहरूको जोखिममा रहेका छन् । ग्रामीण क्षेत्रमा सवारी दुर्घटनाको मुख्य कारण भने नयाँ चालक तथा ओभर स्पीड रहेको चालक सन्तोष विक बताउँछन् । विगत १९ वर्षदेखि गण्डकी क्षेत्रका विकट क्षेत्रमा बोलेर भ्यान चलाउँदै आएका विकले सडकको अवस्था यतिधेरै कमजोर छ कि दुर्घटना कतिखेर हुन्छ भन्ने डर बोकेर हिँड्नुपर्ने बताउँछन् ।

‘नेपालका सडकको अवस्था स्तरिय छैनन् । जसले गर्दा जोखिम लिएर नै सवारी चलाउनुपर्छ भने यात्रुले यात्रा गर्नुपर्छ । दोस्रो कुरा यात्रुको चाप बढी हुँदा पनि दुर्घटना निम्तिएका छन्’, सन्तोषले थाहाखबरसँग भने, ‘ग्रामिण क्षेत्रमा सरकारको निरिक्षण पुग्दैन भने नयाँ चालकहरूले बेप्रवाह सवारी हुइँक्याउँदा दुर्घटना निम्तिएको हो ।’ ग्रामीण क्षेत्रमा सवारी चलाउँदा झन् धेरै अनुभव आवश्यक पर्ने उनको बुझाइ छ । ‘ग्रामीण क्षेत्रका सडकहरू सवारी चलाउन सिक्ने माध्यम भएका छन् । यसले जनधनमा ठूलो क्षति भएको उनले बताए । ‘सरकारले यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए ।

‘ज्यानमारा सडक’

सवारी दुर्घटनाबाट हुने क्षतिमा धन सम्पतिको क्षतिभन्दा मानवीय क्षति अति संवेदनशील र हृदयविदारक हुने कुरा हामी सबैले महसुस गर्दै आइरहेका छौँ । सवारी दुर्घटनाका कारण नागरिकले ज्यान गुमाइरहेका छन् भने अंगभंगका कारण कष्टकर जीवन बाँच्न अभिशप्त रहेका छन् । जनधनको क्षतिका कारण परिवार, समाजदेखि लिएर राज्य समेतले त्यसको प्रतक्ष परोक्ष असर भोग्नु परिरहेको छ ।

सीमित स्रोतबाट धेरै सडक निर्माण गर्दा हामीले गाउँ गाउँ जोड्न मात्र लागि परेको पूर्वधारविद् आशिष गजुरेल बताउँछन् । ‘सुरक्षित सडक बनाउन लागेनौँ’, उनले भने, ‘सडक विभागले निर्माण गरेका बाहेक अन्य सडक ज्यानमारा सडक हुन् जसलाई तत्काल बन्द गरे हुन्छ । झन ग्रामिण सडकको अवस्था नाजुक छ । सहरका सडकहरू त यहाँ जोखिमपूर्ण छन् । गाउँका सडकहरू त ज्यानमारा नै छन्,’ उनले भने ।

यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने हतारो, चालकहरूलाई कमाउनुपर्ने लोभ र अपरिपक्कता । सवारीको चेकजाँच नहुनु तथा अनुगमन शून्य हुनु नै सडक हाम्रा लागि ज्यानमारा साबित भएको उनले बताए । उनले भने, ‘यो चिन्ताको विषय हो । सरकारले कुनै एक्सन लिन सकिरहेको छैन । सरकार जिम्मेवार हुन सकेन ।’ प्रहरी अनुगमन पनि शहर केन्द्रित रहेको भन्दै उनले अनुगमनको दायरा फराकिलो हुँदा पनि केही जोखिम कम हुने उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १४:५९

लोकप्रिय