नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बनघुस्राका ३३ वर्षीय युवा सुनिल वर्माले नेपालगन्जमा व्यावसायिक रूपमा अम्बा खेती सुरु गरेका छन् । ‘जय नेपाल कृषि फार्म’ नामक कृषि फर्ममार्फत् वर्माले ३३ कट्ठा जमिन भाडामा लिएर तीन वर्ष अघिदेखि व्यावसायिक रूपमा अम्बाको खेती सुरु गरेका हुन् । वर्माले ५०० अम्बाको बिरुवा, ५०० आँप लगायत लिची, कटहर, मेवा, कागती लगायतका बिरुवा मगाएको बताए ।
‘नेपालगन्जमा कसैले अम्बालाई व्यावसायिक रूपमा खेती गरेको पाइनँ, म पहिलेदेखि नै कृषि काम गर्न इच्छुक थिएँ, मनमा केही नयाँ गर्ने इच्छा जाग्यो, व्यावसायिक तरीकाले अम्बाको खेती गर्नुपर्छ भन्ने लाग्यो,’ वर्माले भने, ‘अनलाइनबाटै जानकारी लिए अनि बिरुवा मगाएँ र लगाएँ । एक जनासँग ३३ कट्ठा जमिन भाडामा लिएँ, तारबार गरेँ, ल्याएका बिरुवाहरू त्यही जग्गामा लगाएँ, अम्बाले गत वर्षदेखि फल दिन सुरु गरेको छ,’ उनले भने ।
अम्बा गत वर्षदेखि फल्न सुरु गरेको र यस वर्ष पनि फलेको बताउँदै वर्माले बिक्री गर्न र बजारीकरणका लागि अझैसम्म पूरा जानकारी नभएको बताए । ‘फार्म अवलोकन गर्न आउनेहरूले यहीँबाट खरिद गरेर लैजानुहुन्छ, अर्को वर्षदेखि व्यावसायिक रूपमा बजारमा लैजाने लक्ष्य लिएको छु ।’ ५०० बिरुवा लगाए पनि अहिले ३५० जति मात्र अम्बाको बिरुवा रहेको उनले बताए ।
‘लगाएका सबै बिरुवा बाँचेनन्, कतिपय मरे, कति भाँच्चिए, अहिले ३५० जति बिरुवा रहेका छन्, अम्बा मात्र नभएर अन्य फलफूलका बिरुवाले पनि फल दिन सुरु गरेका छन्,’ उनले भने, ‘सबै बिरुवामा फल लागेका छन् तर किरा र चराचुरुङ्गीबाट जोगाउन गाहो रहेछ, जोगाउनका लागि किटनाशक औषधी छर्ने गरेको छु ।’ अम्बा वर्षमा दुई पटक फल लाग्ने भएकाले पनि आफूले यो व्यवसायमा हात हालेको उनले बताए ।
‘उत्पादन भएको अम्बालाई बजारसम्म पुराउनका लागि योजना बनाइरहेको छु, भारत र चाइनाबाट नेपालगन्ज बजारमा अम्बा आउने गरेको छ,’ उनले भने, ‘बाहिरबाट आउने अम्बालाई विस्थापित गरी स्थानीय उत्पादनलाई नै बजारसम्म लैजानका लागि अहिले प्रचारप्रसार र प्रमोसनको काम गरिरहेको छु ।’ परिवारका अन्य सदस्यहरू पनि कृषि पेसामै आबद्ध भएका कारण परिवारका सदस्यले नै हेरचाह गर्दै आएको वर्माले बताए ।
‘काम गराउनका लागि अहिले मान्छे नै पाइँदैनन्, सबै युवा जति रोजगारी खोज्दै विदेश गएका छन्, फार्मलाई जोगाउनका लागि सिसी क्यामेरा जडान गरेको छु, परिवारका अन्य सदस्यहरूले सहयोग गर्दै आउनुभएको छ,’ वर्माले भने, ‘मलाई भने विदेश जाने इच्छा जागेन, नेपालमै बसेर केही पेसा व्यवसाय गर्छु भन्ने मनमा थियो, युवाजति देश बाहिर गएर नेपालमा कसले काम गर्ने ? युवाहरूले आफ्नै देशमा सानै भए पनि केही न केही पेसा व्यवसाय गर्नु जरुरी छ ।’ कृषि व्यवसायबाटै दीर्घकालीन रूपमा देश मै टिक्न र अर्थ तथा रोजगारमा टेवा पुराउनका लागि आफूले व्यावसायिक रूपमा कृषि कार्य रोजेको वर्माको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके