घोँगीको व्यापार यहाँका धेरै महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं.५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन् ।
उनले सुनसरीको झुम्का, कालाबन्जर लगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताइन् । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाइन् । मेहेनत अनुसार राम्रै आम्दानी हुने र अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेको उनले बताइन् ।
उनले भनिन्, ‘यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै हो,’ उनले भनिन्, ‘विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु । झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो ।’ झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्र लगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उनले बताइन् ।
अचेल घोँगी भने जताततै पाइँदैन । मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ । ‘अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ । आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला,’ उनको भनाइ थियो ।
प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन् । मागअनुसार घोँगी पुर्याउनै नसकिएको मुखियाले बताइन् । उनले प्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटियाबजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको बताइन् ।
उनी मात्रै होइन सोही नगरको वडा नं. १ की रत्नीदेवि माला विगत १२ वर्षदेखि घोँगीको व्यापार गर्दै आएकी छन् । उनले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पालेकी छन् । यही पोखरीबाट उत्पादन भएको घोँगी इटहरी, झुम्का, कालाबन्जर लगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्दै आएको मालाले बताइन् ।
‘घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेको बेला मान्छेले अत्याधिक खरिद गर्ने गरेका छन् । अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ’, उनले भनिन् । रामधुनी नगरपालिका–१ कै रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि घुँगीको व्यापार गर्दै आएको बताइन् ।
उनले पनि भनिन्, ‘विगत सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु । राम्रो आम्दानी हुन्छ । खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्ष छैन । पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु । दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु ।’
गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ । पुसको दोश्रो सातादेखि माघ–फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ । यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दश जना महिला लहरै बसेर व्यापार गर्दै गरेको देखिन्छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुनसरी