सूचनाको शक्ति - The Power Of Information

        

नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

१९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ । यूएईमा जारी एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक यूएईलाई आठ विकेटले पराजित गर्दै युवा महिला टोलीले इतिहास रचेको हो ।

यूएईले दिएको ८४ रनको मध्यम लक्ष्य १६.२ ओभरभित्र जित्न सकेमात्र नेपाल रनरेटमा अगाडि रही विश्वकपमा पुग्थ्यो । नेपालले १४.४ ओभरमै लक्ष्य भेट्टायो । टस हारेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक यूएईलाई उनीहरूको घरेलु मैदान अजमान क्रिकेट मैदानमा ८३ रनमा रोकेको थियो ।

पहिलो लिगमा यूएईसँग पराजित भइसकेकोले बुधवारको खेलमा नेपाललाई विजय मात्र नभई उत्कृष्ट रन रेटसहितको जित आवश्यक थियो । यस्तोमा युवा नेपाली क्रिकेटरहरूले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जित निकालेका हुन् ।

महिला टोलीले अब अर्को वर्ष मलेशियामा हुने विश्वकपमा सहभागिता जनाउने छ । सोह्र राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले यो उमेर समूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो ।

नेपालको प्रदर्शन

यूएईले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । नेपालको तर्फबाट कृष्णा गुरुङले चार विकेट तथा रिया शर्मा र सिमाना केसीले समान दुई विकेट लिए । कप्तान पूजा महतोले चार ओभरमा ११ रन मात्र खर्चेर कसिकसाउ बलिङ गरेकी थिइन् ।

यूएईकी मुख्य खेलाडी लावण्या केनीलाई आउट गरेसँगै नेपालले विजयको आधार तयार गरेको थियो । नेपालकी रचनाकुमारी चौधरीले ६.१ ओभरमा १० रन बनाएर खेलिरहेकी लावण्यालाई बोल्ड गरेकी थिइन् । रचनाले आफ्नो पहिलो बलमा नै विकेट लिएकी हुन् ।

यसअघि दोस्रो ओभरको अन्तिम बलमा ओपनर इमिली थोमसलाई कृष्मा गुरुङले विकेटकीपर सावित्री धामीबाट क्याच आउट गराएकी थिइन् । यूएईले खेलमा पकड जमाउँदै गरेको बेला १४औँ ओभरमा रिया शर्माले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउने काम गरिन् ।

चौध ओभरमा दुई विकेटको क्षतिमा ५७ रन बनाएर यूएई बलियो स्थतिमा रहेको बेला रियाले ओभरको चौथो बलमा तेस्रो विकेटको रूपमा रिनिथा रजिथलाई आउट गरिन् । २० रन बनाएर खेलिरहेकी रिनिथालाई रियाले १३.४ ओभरमा बोल्ड गरेकी थिइन् ।

रिनिथाले यसअघिको खेलमा नेपालविरुद्ध सर्वाधिक ४८ रन बनाएकी थिइन् । त्यसपछि ओभरको अन्तिम बलमा रियाले मेहक ठाकुरलाई कृष्मा गुरुङबाट क्याच आउट गराइन् । यो ओभरपछि युएई ५९–४ को अवस्थामा आयो ।

यूएईकी कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ बनाएकी थिइन् । उनलाई कृष्मा गुरुङले १७.२ ओभरमा बोल्ड गरेकी थिइन् । यूएईले पछिल्लो सात विकेट गुमाउँदा २४ रन मात्र जोड्न सकेको थियो ।

नेपालको ब्याटिङ

सत्र ओभरभित्र खेल जित्न आवश्यक भएकोले नेपालले आक्रामक शुरूआत गर्न जरुरी थियो । युवा खेलाडीहरूले त्यस्तै गरे । तेस्रो ओभरमा सावित्री धामी १२ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा १९ रन बनेको थियो । त्यसपछि कप्तान पूजा महतो र साना प्रवीनले मिलेर तीव्र गतिमा रन जोड्न थाले ।

सातौँ ओभरमा नेपाल ४७–१ को बलियो अवस्थामा पुगेको थियो । तर सातौँ ओभरको अन्तिम बलमा पूजा एलबीडब्ल्यूको शिकार हुन पुगिन् । चार चौका ठोकेर १८ रन बनाइसकेकी पूजालाई मेहक ठाकुरले एलबीडब्ल्यूको धरापमा पारेकी हुन् ।

नेपालकी मुख्य खेलाडी आउट हुँदा टोलीमा अलिकति चिन्ता थपिएको थियो । तर त्यसपछि साना प्रवीन र उपकप्तान सोनी पाख्रिनले धैर्यपूर्ण पारी खेल्दै नेपाललाई सहज जिततिर उन्मुख गराए । सानाले ३५ रनको अविजित पारी खेलिन् भने उनलाई साथ दिएकी सोनीले १३ रन बनाएर नेपाललाई जिताए ।

लीग तालिकाको स्थिति

एशिया छनोटबाट सहभागी चार राष्ट्र यूएई, नेपाल, थाईल्यान्ड र कुवेतलाई डबल राउन्ड रोबिन लीग अर्थात् एक टोलीले हरेक विपक्षीसँग दुईदुई खेल खेल्नपुर्ने प्रावधान राखिएको थियो । प्रतियोगिताका दाबेदार टोलीमध्येको एक यूएईले लीगको सबै ५ खेल जितेर १० अङ्क बटुलेको छ ।

सो क्रममा उसले नेपाललाई १३ रनले पराजित गरेको थियो । नेपालले पनि यूएईसँगको पराजयबाहेक थाईल्यान्ड र कुवेतलाई दुवै खेलमा हराएर आठ अङ्क बटुलेको थियो । अन्तिम खेलमा जितसँगै नेपाल १० अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुग्यो । यूएईले कुवेतलाई १०६ र १८४ रन तथा थाईल्यान्डलाई ७४ रन र नौ विकेटले हराएको थियो ।

त्यस्तै नेपालले कुवेतलाई १०८ र १६५ तथा थाईल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो । यू–१९ महिला विश्वकप सन् २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म हुने छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ जसमा अस्ट्रेलिया, बाङ्ग्लादेश र स्कटल्यान्ड छन् । जनवरी १८ तारिखमा बाङ्ग्लादेशसँग खेलेर नेपालले विश्वकपको यात्रा शुरू गर्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार ०८:१७

लोकप्रिय