सूचनाको शक्ति - The Power Of Information

        

जो वडासँगै फार्म पनि चलाउँछन्

बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूल खेतीमा जमेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका छन् । तीन वर्षअघि किबीखेती थालेको उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ ।

गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष १०० बोटबाट ६०० क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबीसँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए । वडाध्यक्ष थापाका बारीमा १५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट रु ३३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए । हाल स्थानीय बजारमा प्रतिकेजी रु २५० देखि रु ३०० मा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको उनले बताए ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार ६०० ओखर १४० रोपनी जग्गामा लगाइएको थियो भने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नं.९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ११:१८

लोकप्रिय