सूचनाको शक्ति - The Power Of Information

        

साइबेरियन चरा कैलाली र कञ्चनपुरतिर

जाडो छल्नका लागि साइबेरिया लगायतका क्षेत्रबाट बसाइँ सर्दै आगन्तुक चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका छन् । साइबेरिया लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि हरेक वर्ष हिमाल छिचोल्दै चरा निकुञ्ज लगायत यहाँका खोला, नदी र सिमसार क्षेत्रमा पुग्ने गर्दछन् ।

साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरु जाडो छल्नका लागि हिमाल पार गरेर निकुञ्ज क्षेत्रमा पुग्ने गरेका छन् । नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन)का सदस्य हिरुलाल डगौराका अनुसार प्रतिवर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् ।

तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् । उनका अनुसार हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत आपसपासका नदी, खोला, तलाउ र सिमसार क्षेत्रमा मात्रै ३० भन्दा बढी प्रजातिका बसाइँ सारेर आउने चरा देखिएका छन् । चरा आउने क्रम जारी रहेको छ । आहारको खोजी, मौसम अनुकूलता र प्रजननका लागि चराले बसाइँ सर्ने गरेका छन् ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवा लगायत चरा सिमसारमा आएका छन् । निकुञ्जको रानीताल, सलगौडी ताल, बाबा ताल, चौधर नदी, स्याली नदी, सनवोरा नदी लगायतका क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल वृद्धि भएको छ ।

‘निकुञ्ज चरा अवलोकनका लागि गन्तव्य नै हो,’ डगौराले भने, ‘बसाइँ सरेर आउने चरासँगै निकुञ्जमा रैथाने चराको सङ्ख्या मात्रै ४५० रहेको छ ।’ लोपोन्मुख अवस्थामा पुगेका खरमजुर, गिद्ध लगायत चरासमेत निकुञ्जमा पाइने गरेका छन् । चरा संरक्षणका लागि गरिएका प्रयास अनुरुप हालसम्म चराको तस्करी गर्ने र सिकार गर्ने कार्य हुन नपाएको उनले बताए ।

निकुञ्ज बाहिरका सीमसार क्षेत्रमा समेत चरा आउने क्रम शुरु भएको छ । हिउँद सुरु हुँदै आउने चरा गर्मी सुरु हुनु अगावै पुरानै बास स्थानमा फर्कने गरेका छन् । पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानु लगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा केही वर्षयता भने कमी देखिन थालेको छ ।

जलचरको बासस्थानमा सुधार, सिमसारको संरक्षण तथा चराको चोरी सिकारीलाई न्यूनीकरण गर्नुपर्ने चरा विज्ञहरुको भनाइ छ । उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको हो । साइबेरिया लगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेको बिसिएनका सदस्य हिरुलाल डगौराले बताए ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान लगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताए । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १०:२१

लोकप्रिय